काठमाडौं । रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्नेगरी होन्डाले भारतमा नयाँ मिडवेट मोटरसाइकल ल्याउने रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले भारतीय बजारमा रोयल इन्फिल्डको बढ्दो लोकप्रियतामा प्रतिस्पर्धा गर्नेगरी नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।
होन्डाले यसअघि नै ३५० सीसी सेग्मेन्टमा होन्डा हाइनेस सिबी ३५० र सिबी ३५० आरएस दुई मोडल ल्याइसकेको छ । कम्पनीले त्यही प्लेटफर्ममा फरक बडी डिजाइनमा नयाँ मोटरसाइकल बनाउन लागेको हो ।
होन्डाले भारतमा उत्पादन गरेको प्रिमियम मोटरसाइकल वार्षिक ३ लाख यूनिट विक्री गर्ने लक्ष्यसहित नयाँ नयाँ मोडल बजारमा ल्याउने प्रयास गरिरहेको छ । यही क्रममा नयाँ मोटरसाइकल आउन लागेको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाका प्रेसिडेन्ट अतुसी ओगाटाले भने, ‘हामी हरेक वर्ष एउटा प्रिमियम मोटरसाइकल बजारमा ल्याउनेगरी काम गरिरहेका छौं । जसले हाम्रो वार्षिक ३ लाख प्रिमियम मोटरसाइकल विक्री गर्ने लक्ष्य पुरा गर्नेछ । यस क्रममा हामी २५० देखि ५०० सीसीसम्मका मोटरसाइकल बजारमा ल्याउने छौं ।’
होन्डा अन्तर्राष्ट्रिय बजारमा थुप्रै प्रिमियम मोटरसाइकल विक्री गर्दै आएको ब्राण्ड हो । कम्पनीले भारत, चीन, थाइल्याण्ड र जापानमा उत्पादन गर्दै आएका मोडलहरु नेपाली बजारमा पनि स्याकार ट्रेडिङले आयात गर्दै आएको छ ।


