काठमाडौ । नेपाली बजारमा हाल २५ कम्पनीका मोटरसाइकल तथा स्कुटर विक्री हुँदै आएको छ । नेपालमा नै एसेम्वल भएकादेखि अमेरिका युरोपसम्ममा उत्पादन भएका मोटरसाइकल नेपालमा विक्री हुने गरेका छन् ।
विभिन्न २५ ब्राण्डले १६७ मोडलका मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएका छन् । यसबाट ग्राहकले आफ्नो बजेट, आवश्यकता र डिजाइन अनुसार मोटरसाइकल तथा स्कुटर छनोट गर्न पाएका छन् ।
भारतीय मोटरसाइकल कम्पनीले बजाजका विभिन्न ११ मोडल हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको छ । त्यस्तैगरी जापानी मोटरसायकल कम्पनी होन्डा १८ मोडल बजारमा उपलब्ध रहेका छन् । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले स्कुटर, मोटरसाइकल र विग बाइक सेग्मेन्टमा सवारी साधन विक्री गर्दै आएको छ ।
अर्को भारतीय कम्पनी टीभीएसको १७ मोडल नेपालमा किन्न पाइन्छ । जगदम्बा मोटर्सले टीभीएसको मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । जापानी उत्पादक कम्पनी यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले सबैभन्दा धेरै २१ मोडलका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।
भारतको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनी हिरोले आफ्ना १७ मोडल नेपालमा विक्री गर्छ । हिरोको आधिकारीक वितरक एनजीएमले ५ स्कुटर र १२ मोटरसाइकलको विक्री गर्दै आएको हो ।
क्लासिक मोटरसाइकलमा महारथ हासिल गरेको रोयल इनफिल्डले २ मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ ।
जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीका ८ मोडलका मोटरसाइकल र स्कुटर बजारमा किन्न पाइन्छ ।
त्यस्तै केटीएमले ८ मोडलका मोटरसाइकल, बेनेलीले पनि ८ मोडलका मोटरसाइकल र १ मोडलको स्कुटर विक्री गर्दै आएको छ ।
डर्ट मोटरसाइकल क्रसफायरले ४ मोडलमा विक्री गर्दै आएको छ भने क्रसफायरकै अर्को प्रतिस्पर्धी कम्पनी क्रस एक्सले ३ मोडलका मोटरसाइकल विक्री गरिरहेको छ ।
जर्मनी मोटरसाइकल ब्रान्ड बीएमडब्लूको भारतमा उत्पादन भएका दुई मोडल, चेक ब्रान्ड जावाको तीन मोडल र स्विडिस ब्राण्ड हस्कभर्नाको २ मोडल उपलब्ध रहेका छन् ।
त्यस्तै मोटरहेडका ७ मोडल, अप्रिलियाका ५ मोडलका स्कुटर र भेष्पाको ८ मोडलका स्कुटर विक्री हुँदै आएको छ ।
चिनियाँ मोटरसाइकल कम्पनी सिएफ मोटोले ३ मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । त्यस्तै किवेका २ मोडल, हाउजे र एसवाईएमको एक/एक मोडल नेपालमा उपलब्ध रहेका छन् ।
अमेरिकी मोटरसाइकल कम्पनी क्लेभल्याण्डले ३ मोडल, इटालीका ब्रान्डको तीन मोडल तथा जोङसेनले ३ मोडल पनि ग्राहकले पाउने छन् ।
बंग्लादेशी मोटरसाइकल ब्रान्ड रनरले ६ मोडलका मोटरसाइकल विक्री गरिरहेको छ ।

