बीवाइडी हानको १ लाख ५० हजार यूनिट रोलआउट

काठमाडौं । चिनियाँ इलेक्ट्रिक भेहिकल कम्पनी बीवाइडीले डेढ वर्षको अवधिमा हान मोडलको सेडान कार १ लाख ५० हजार यूनिट उत्पादन गरेको छ ।

सन् २०२० को जुलाईदेखि हान मोडलको कार उत्पादन थालेको कम्पनीले सो वर्ष ६ महिनामा ४० हजार यूनिट र सन् २०२१ को नोभेम्बरको अन्त्यसम्म १ लाख यूनिट गरी कुल डेढ लाख युनिट उत्पादन गरेको हो ।

बीवाइडीले विकास गरेको आफ्नै नयाँ बीवाइडी ब्लेड ब्याट्री भएको यो कारको मागमा आएको बढोत्तरीसँगै उत्पादन पनि ठूलो मात्रमा वृद्धि गरेको हो ।

अस्ट्रेलिया र केही ल्याटिन अमेरिकी देशमा निर्यात भइरहेको यो कार कम्पनीले छिट्टै युरोपियन बजारमा समेत विक्री गर्ने कम्पनीले जनाएको छ । टेस्लाकाे माेडल एससँग प्रतिस्पर्धा गर्ने हानमा फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुई वटा अप्सन रहेको छ ।

यो कारमा ६५ किलोवाट आवर र ७७ किलोवाट आवरको दुई साइजको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्याक रहेको छ । एक पटको फुल चार्जमा यो कार ६०५ किलोमीटरसम्म गुड्न सक्दछ ।

यो कारमा फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १६३ किलोवाटको मोटर तथा अल ह्वील ड्राइभ अप्सनमा अगाडि १६३ र पछाडि २०० किलोवाटको मोटर रहेको छ । यो कारको अलह्वील ड्राइभ भर्सनले जम्मा ३।९ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको स्पीड भेटाउन सक्नेछ ।

यो कारलाई डीसी फास्ट चार्जरबाट मात्र २५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । १० मिनेट मात्र चार्ज गर्दा पनि यो कारलाई १३५ किलोमीटर गुडाउन सकिन्छ । लगभग ५ मिटर ९४९८० एमएम० लम्बाइ रहेको यो कारको चौडाइ १९१० एमएम, उचाइ १४९५ एमएम तथा २९२० एमएमको ह्वीलवेस रहेको छ । युरोपियन स्पेकमा बनेसँगै यो कार नेपालमा पनि आउने सम्भावना बढेको छ ।


Back_to_top