बीवाइडी डल्फिनको विक्रीमा छलाङ, नेपाल ल्याउने तयारी

काठमाडौं । चिनियाँ इलेक्ट्रीक सवारीसाधन उत्पादक बीवाइडीले ल्याएको नयाँ ह्याचव्याक कार डल्फिनको विक्रीमा छलाङ देखिएको छ । कम्पनीले डिसेम्बरमा मात्रै डल्फिन ह्याचव्याकको १० हजार १६ यूनिट विक्री गरेको हो ।

अगस्ट २९ मा चेन्दुअटो शोमा लन्च गरिएको डल्फिन विक्री सुरु भएको ५ महिनामा नै १० हजार यूनिट पार गरेको हो । डल्फिनको अगस्टमा १ हजार ७५५, सेप्टेम्बरमा ३ हजार, अक्टुवरमा ६ हजार १८ र नोभेम्बरमा ८ हजार ८०९ यूनिट विक्री भएको थियो ।

चिनियाँ बजारमा डल्फिनको सफलतासँगै बीवाइडीका कारहरु विश्वको कुनै पनि वजारमा प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । आकर्षक डिजाइन, अत्याधुनिक फिचर तथा नयाँ प्रविधिको व्लेड व्याट्री भएकाले डल्फिन बीवाइडीको सवैभन्दा छिटो समयमा प्रति महिना १० हजारको आंकडा पार गर्न सफल मोडल बनेको हो ।

बीवाइडीको नयाँ ३.० इ-प्लेटफर्ममा बनेको डल्फिन ‘नेक्स्ट जेनेरेशन हाई पफर्मेन्स स्मार्ट इलेक्ट्रीक भेहिकल’ हुने कम्पनीले दावी गरेको थियो । नयाँ प्लेटफर्ममा बनेका कारहरु साना, छरिता, हलुका र अधिक सक्षम तथा ज्यादै कम इनर्जी खपन गर्ने छन् ।

डल्फिनमा दुई साइजको व्याट्री दिइएको छ । यसको वेस मोडलमा ३०.७ किलोवाट आवरको व्लेड व्याट्री उपलब्ध छ । जसले एक पटकको फुल चार्जमा ३०१ किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । डल्फिनको प्रिमियम भेरियन्टमा भने ४४.९ किलोवाट आवरको व्लेड व्याट्री छ । यसको रेन्ज ४०१ किलोमिटर रहेको छ । चिनियाँ बजारमा बीवाइडी डल्फिनको सुरुवाती मूल्य ९३ हजार ८ सय युवान रहेको छ ।

बीवाइडीले सन् २०२१ मा ५ लाख ९३ हजार ७ सय ४५ यूनिट गाडी विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीकाे २०२१ को अक्टुबरदेखि डिसेम्बरको विक्रीमा भने उछाल देखिएको थियो । कम्पनीले तीन महिनामा मात्रै २ लाख ६६ हजार २०४ यूनिट गाडी विक्री गर्न सफल भएको हो । डिसेम्बरमा कम्पनीले ९३ हजार ९४५ यूनिट विक्री गरेको थियो ।

सन् २०२२ मा कम्पनीले १२ लाख कार बेच्ने लक्ष्य लिएको छ । त्यो लक्ष्य भेट्टाउन अमेरिका, युरोप र अष्ट्रेलियन बजारमा विक्री सुरु गर्न लागेको हो ।

नेपालमा पनि बीवाइडीको इ६, अल न्यू इ६, एमथ्री र टीथ्री गरी ४ वटा मोडल विक्री गर्दै आएको छ । नेपालका लागि बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले यसै वर्षको मध्यसम्ममा ह्याचव्याक कार डल्फिन र एसयूभी एसटु नेपाल ल्याउने बताएको छ ।

सन् १९९५ मा व्याट्री उत्पादकको रुपमा स्थापना भएको बीवाइडीले सन् २००३ बाट कार उत्पादन गर्न थालेको हो । अहिले कम्पनीले नयाँ टेक्नलोजीको व्लेड व्याट्रीका साथै, मोटर, व्याट्री मेनेजमेन्ट सिस्टम लगायत इलेक्ट्रीक भेहिकलको सम्पूर्ण कम्पोनेन्टहरु आफैँ विकास र उत्पादन गर्दै आएको छ ।

बीवाइडीमा अमेरिकी विश्वप्रशिद्ध लगानीकर्ता वारेन्ट बफेटको कम्पनी वर्गसाय हाथवेको समेत लगनी रहेको छ । वर्गसाय हाथवेको बीवाइडीमा २२ करोड ५० लाख कित्ता शेयर रहेको छ । जसको अहिलेको वजार मूल्य ७ अर्ब ७० करोड डलर हुन्छ ।


Back_to_top