काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी खोलेर आयात गरिने बस्तुको आयातमा कडाई गर्न मार्जिन १०० प्रतिशतसम्म राख्नु पर्ने नियम ल्याएसँगै बजारमा सवारी साधनको लागि अत्यावश्यक पार्टस्को अभाव हुने देखिएको छ ।
विलासी सामान मार्वल, ग्रेनाइट, टायलकै अनुसूचीमा रहेको ब्रेक, क्लच जस्ता बस्तुमा पनि १०० प्रतिशत मार्जिन राख्नु पर्ने भएपछि यी बस्तुको अभाव हुने व्यवसायीहरुले बताउन थालेका छन् ।
राष्ट्र बैंकले आयात कम गर्ने नीति अनुसार केही बस्तुको आयातमा कडाई गर्न १०० प्रतिशतसम्म मार्जिन राख्नु पर्ने वाध्यकारी नियम बनाएको थियो । यसको प्रभाव अब अत्यावश्यक बस्तु ब्रेक, क्लच, एयर फिल्टर जस्ता बस्तुमा पर्ने नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए ।
‘हामीले एलसी खोल्न जाँदा १०० प्रतिशत मार्जिन राख्न भनिएको छ । स्पेयर पार्टस् त अत्यावश्यक क्षेत्र हो भन्दा शतप्रतिशत मार्जिन राख्नु पर्ने भन्दै बैंकले एलसी खोल्न मानेन्’, नाडा उपाध्यक्ष रिजालले भने ।
नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्ट भने अत्यावश्यक बस्तुमा त्यस्तो व्यवस्था गर्नु नपर्ने बताउँछन् ।
‘हामीले अत्यावश्यक सेवा र बस्तुमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिएका छौं । गाडीका ब्रेक, क्लच जस्ता बस्तुको आयात कडाई गर्ने केन्द्रीय बैंकको नीति होइन’, प्रबक्ता डा. भट्टले भने ।
यहाँ नाडा र राष्ट्र बैंकले आ-आफ्नै कुरा गरेको भएपनि यस्ता बस्तुको आयात सहज गर्न राष्ट्र बैंकले अर्को सर्कुलर जारी नगरेसम्म सहजै एलसी खुल्ने अवस्था देखिदैन । यसले बजारमा सवारी साधनको लागि अत्याआवश्यक बस्तुको आयातमा समस्या देखिएको छ ।


