नेपालमा ब्रेजा सफलताको ५ कारण, भयो रेकर्ड विक्री

काठमाडौं । एक वर्षमा नै करिब २ हजार यूनिट मारुती सजुकी भिटार ब्रेजा विक्री भएसँगै धेरै गाडी विक्रेता समेत अचम्ममा परे । विशेषत बजारमा सबैभन्दा धेरै प्रतिस्पर्धी उपलब्ध रहेको सेग्मेन्टमा विक्री हुने ब्रेजाले एक वर्षमा नै करिब २ हजार यूनिट विक्री गर्न सक्नु निकै ठूलो उपलब्धी हो ।

सन् २०२१ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा १८ हजार यूनिट कार आयात भएकोमा ब्रेजा एक्लै २ हजार यूनिट आयात हुनु आफैँमा ठूलो उपलब्धी मान्न सकिन्छ । यसरी एकै वर्षमा यति धेरै यूनिट सिंगल मोडल नेपाल आएको पनि पहिलो पटक हो ।

सिजी मोटोकर्प आधिकारीक वितरक रहेको मारुती सुजुकी नेपालमा चल्तीको ब्राण्ड हो । नेटवर्कका हिसावले सबैभन्दा धेरै नेटवर्क रहेको मारुती सुजुकी मोडलका हिसावले पनि निकै बलियो ब्राण्ड हो । आफ्नो बलियो नेटवर्कको फाइदा उठाउँदै कम्पनीले ब्रेजाको विक्रीमा नयाँ रेकर्ड बनाउन सफल भएको हो ।

सन् २०२१ मा अन्य ब्राण्डका गाडीको सप्लाईमा समस्या आएको थियो । त्यसको फाइदा उठाउँदै ब्रेजाले रेकर्ड सेल्स गर्न सफल भएको हो । यस बाहेक पनि निम्न ५ कुरामा ब्रेजा बलियो भएको कारण उत्कृष्ट विक्री पाउन सफल भएको देखिन्छ ।

१.५ लिटर क्षमताको पेट्रोल इन्जिन

सन् २०१६ देखि नेपाली बजारमा उपलब्ध ब्रेजा पहिला डिजेल इन्जिनमा मात्रै उपलब्ध थियो । सन् २०२० मा मात्रै कम्पनीले पेट्रोल इन्जिनमा ब्रेजा ल्याएको थियो । पेट्रोल इन्जिनमा आएसँगै कम्पनीले आफ्नो १.३ लिटर डिजेल इन्जिन पूर्णरुपमा बन्द गरेको हो ।

सब फोर मिटर एसयूभीमा १.५ लिटर क्षमताको इन्जिन दिएर मारुती सुजुकीले क्रेटा र सेल्टोसको ग्राहकलाई पनि तान्न सफल भएको देखिन्छ । पावरको हिसावले क्रेटा र सोल्टोसको इन्जिनभन्दा केही कम भएपनि साइज अनुसारको पावरले गाडीलाई निकै राम्रो प्रतिस्पर्धी मोडल बनाएको छ । यसमा रहेको इन्जिनले १०३ पीएस पावर प्रदान गर्छ ।

उत्कृष्ट माइलेज र कम मर्मत खर्च

मारुती सुजुकीको मुख्य ‘यूएसपी’ भनेकै माइलेज हो । भारतमा सुरुदेखि नै ‘कित्ने देती है’ क्याम्पेन गर्दै आएको कम्पनीले यसको माइलेज पनि निकै राम्रो आउने बनाएको छ । यसले हाइवेमा १५ र सहरी बाटोमा १२ किलोमिटर प्रतिलिटर सहजै मालेज दिन्छ । साथै, तुलनात्मक रुपमा मारुती सुजुकीको मर्मत खर्च पनि कम लाग्ने प्रयोगकर्ताहरु बताउँछन् ।

बल्की डिजाइन र फराकिलो क्यावीन

झट्ट हेर्दा परम्परागत र अग्लो देखिने ब्रेजा साइजमा ४ मिटरभन्दा छोटो रहेको छ । अगाडिको फेसिका मस्कुलर र पछाडिको भाग स्पोर्टी देखिने ब्रेजा समग्रमा बल्की देखिन्छ । यो सेग्मेन्टमा उपलब्ध नेक्सन, म्याग्नाइट, काइगर, भेन्यू र सोनेटको तुलनामा हेर्दा ठूलो लाग्ने ब्रेजाको लम्बाई ३९९५ एमएम मात्रै छ । यी उल्लेख भएका सबै गाडीको लम्बाई पनि उत्तिनै हो ।

ब्रेजाको चौडाई १७९० एमएम र उचाई १६४० एमएम रहेको छ । यसमा २५०० एमएमको ह्वीलवेस र १९८ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

रिसेल भ्यालु र सुजुकीको ब्राण्ड नेम

मारुती सुजुकीका अधिकांश मोडलको रिसेल मूल्य राम्रो हुने गरेको छ । साना र कम मूल्यका कारमा जस्तै एसयूभीमा पनि यसको राम्रो रिसेल भ्यालू पाइन्छ । मारुती सुजुकी इन्डियाले उत्पादन गरेको भएपनि अझै पनि नेपालमा सुजुकीको कार भनेर ख्याती कमाएको फाइदा ब्रेजाले पाउँदै आएको छ ।

प्रतिस्पर्धी मूल्य

ब्रेजालाई कम्पनीले दुई भेरियन्टमा विक्री गर्दै आएको छ । ब्रेजा भिएक्सआईको मूल्य ४३ लाख ४९ हजार र जेडएक्सआई प्लसको मूल्य ४८ लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जेडएक्सआई प्लसको ड्यूल टोन भेरियन्ट पनि उपलब्ध गराएको छ । त्यसको मूल्य भने ४८ लाख ५४ हजार रुपैयाँ रहेको छ ।


Back_to_top