गुड क्याट टेष्ट ड्राइभः यूरोपियन डिजाइन र चिनियाँ टेक्नोलोजीको फ्यूजन (भिडियाे सहित)

काठमाडौं । नेपाल आएको पहिलो इलेक्ट्रीक ह्याचव्याक कार ओरा गुड क्याट अहिले बजारमा धेरै चर्चा हुने कार हो । क्लासिक डिजाइनका पारखीलाई यसले एक नजरमै कायल पर्न सक्छ भने, आधुनिक डिजाइनका पारखीले यसलाई चासो दिदैनन् ।

यद्यपी नेपालमा विद्युतीय सवारीसाधन निकै बज भइरहेको समयमा आएको गुड क्याटले राम्रै संख्यामा ग्राहकलाई शोरुमसम्म तानिरहेको छ । ग्रेटवाल मोटर्सको शोरुममा पाइला लम्काउन ग्राहकलाई बाध्य पार्ने गुड क्याटलाई यूरोपियन डिजाइन र चिनियाँ टेक्नोलोजीको मिश्रण मान्न सकिन्छ ।

झट्ट हेर्दा फक्सवागेन विटल्सको झल्को दिने गुड क्याटको डिजाइन यूरोपियन ब्राण्ड पोर्सेका पूर्व डिजाइनरले गरेका हुन् । डिजाइनका हिसावले यूरोपियन ब्राण्ड पोर्सेको कुनै कारसँग मिल्छ भन्ने पनि गरिएको छ ।

ओरा गुड क्याटको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम, उचाई १५९६ एमएम छ । साइजबाट हेर्दा बजारमा उपलब्ध कम्प्याक्ट एसयूभी जस्तो रहेपनि यसको बनोटको कारण कार धेरै ठूलो लाग्दैन । यसमा दिइएको २६५० एमएमको ह्वीलवेसले यसलाई निकै स्टेवल बनाएको छ ।

मेरोअटो टीमले पनि यसको टेष्ट ड्राइभ गरेको थियो । गुड क्याट नामसँग म्याच गर्न सकिने गोलाकार हेडलाइट र त्यसको वरिपरी दिइएको एलइडी डे टाइम रनिङ लाइटको साथै त्यसैमा दिइएको साइड इन्डिकेटरले यसको ‘क्लासिक नेस’लाई प्रदर्शित गरेको छ ।

 

बाहिर डिजाइनसँगै यसको भित्री बनोट पनि लोभलाग्दो छ । ड्यूलटोन कलरमा सजाइएको ड्यासबोर्ड, ड्यासबोर्डमा दिइएको ठूलो टचस्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टरले आकर्षण थपेको छ । त्यस्तै क्लासिक थिममा दिइएका एसी कन्ट्रोल नब, पानारोमिक सनरुफ, वायरलेस चार्जर जस्ता सुविधाले चालक र यात्रुलाई फरक फिल दिन्छ ।

गुड क्याटमा १०५ किलोवाट पीक पावरको मोटर छ । जुन अधिकतम १४० हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्न सक्षम छ । भिजी इम्पेक्सले गुड क्याटलाई दुई फरक व्याट्री अप्सनमा ल्याएको छ ।

यसको लो भेरियन्टमा ४७.७ किलोवाट आवर र हाई भेरियन्टमा ६३.१ किलोवाट आवर क्षमताको व्याट्री दिइएको छ । जसको रेन्ज एक पटकको फुल चार्जमा क्रमस ४०१ र ५०१ किलोमिटर रहने कम्पनीको दावी छ ।

हाम्रो अनुभव

काठमाडौंको थापाथली शोरुमबाट बानेश्वर, कोटेश्वर हुँदै भक्तपूर सूर्यविनायकसम्म यसलाई चलाउँदा तत्काल स्पीड लिन, उत्कृष्ट ड्राइभिङ प्लेजर अनुभव गर्न र विद्युतीय कारको स्मुथनेस अनुभव गर्न पायौं ।

कारलाई अकस्मात रोक्न पर्दा पनि कुनै समस्या हुँदैन । केही कच्ची बाटोमा पनि हामीले चलाएका थियौं । तर, त्यसमा कुनै समस्या थिएन । यसमा १४५ एमएमको मात्रे ग्राउण्ड क्लियरेन्स छ, तर उपत्यकामा चलाउन कुनै सकस हुँदैन ।

यो कारमा पछाडि बस्दा भने अलि अनौठो फिल हुने रहेछ । पछाडिको सिट सामान्यभन्दा बढी होचो भएकाले सुरुमा अलि अफ्ठ्यारो लागेको थियो । तर, यथेस्ठ बस्ने ठाँउ र लेगरुम रहेकाले आरामदायी यात्रा गर्न सकिन्छ ।

दुई व्याट्री अप्सन रहेको ओरा गुड क्याटलाई डब्लुएलटीपीले गरेको रियललाइफ परिक्षणमा ३३६ र ४२० किलोमिटर रेन्ज दिएको थियो । यसले सहरी क्षेत्रमा चलाउने मानिसले १० दिनमा एक पटक चार्ज गर्दा पनि हुने देखिन्छ ।

नेपाली बजारमा ३ वटा भेरियन्टमा उपलब्ध यो कारमा कम्पनीले १ लाख ६० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी दिएको छ । बढ्दो इन्धनको मूल्यसँगै आफ्नै देशको विजुलीले चार्ज गरेर चलाउन मिल्ने यो इलेक्ट्रीक भेहिकलको रनिङ कस्ट एकदमै सस्तो हुन्छ ।

चिल्लो बाटो र सामान्य कच्ची बाटोमा मात्रै तपाईको यात्रा हुन्छ भने ओरा गुड क्याट उत्कृष्ट छनोट बन्न सक्छ ।

 


Back_to_top