पृथक डिजाइन र फिचर लोडेड कोना, दुई भेरियन्टमा किन्न पाइने

काठमाडौं । नेपालमा विद्युतीय कार सेग्मेन्टलाई ‘बुष्ट’ गर्ने पहिलो मोडलको रुपमा हुन्डाई कोनालाई लिन सकिन्छ । सानो, छरितो र आकर्षक डिजाइनको कारण युवाहरुले मनपराउने कोना इभी पहिलो पटक फेसलिफ्ट भएर केही समय अघि नेपाल आएको हो ।

कोरियन कार निर्माता कम्पनी हुन्डाईले बनाएको पहिलो इलेक्ट्रीक क्रसओभर बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्र त्यतिनै आरामदायी र फिचर लोडेड रहेको छ ।

हुन्डाई मास मार्केटमा कम मूल्यमा नै आरमदायी कार बनाउने ब्राण्डमा पर्छ । कम्पनीको ‘मास मार्केट थ्योरी’ले कोना क्रसओभरमा पनि निरन्तरता पाएको छ । यूनिक डिजाइन, फरक कलर र उत्कृष्ट रेन्जको कारण कोना विश्व बजारमा सफल मोडल मानिन्छ ।

अगाडिको भागमा ग्रिललाई पूर्णरुपमा ढाकेर बनाइएको कोनामा ट्वीन एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, आकर्षक तरिकाले दिइएको एलइडी डे टाइम रनिङ लाइट, १७ इन्चको अलोय ह्वील, ७ फरक कलर डिजाइनमा तयार भएको ड्यासबोर्ड, तीन फरक ‘रुफ कलर’ पाउन सकिन्छ ।

यसको इन्टेरियर निकै फराकिलो रहेको छ भने, कनेक्ट टेक्नोलोजी र आधुनिक फिचरले भरिपूर्ण रहेको छ । ५ जना यात्रुले सहजै यात्रा गर्न सक्ने यो क्रसओभरमा उच्च गुणस्तरको मेटेरियल प्रयोग गरेर क्याविन तयार गरिएको छ ।

हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीकल्ली एड्जस्टेवल फ्रन्ट सिट, हिटेडसँगै भ्यान्टीलेटेड सिट, ३७३ लिटरको बुट स्पेश कोनामा पाउन सकिन्छ ।

कोना इलेक्ट्रीकको पावर र टर्क पनि उत्कृष्ट रहेको छ । कम्पनीले यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसको मतलव कोनाले अधिकतम पावर १३६ पीएस पावर र ३०५ एनएम टर्क प्रदान गर्छ । कोनाको तिब्र गति क्षमता १५५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

हुन्डाईले कोनालाई ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध गराएको भएपनि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ३९.२ किलोवाट आवरको व्याट्रीमा मात्रै नेपाल ल्याएको छ । ‘न्यू यूरोपियन ड्राइभिङ साइकल’ (एनइडीसी) का अनुसार कोनाले एक पटकको फुल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने प्रमाणित गरेपनि ‘वर्ल्डवाइड हाम्रोनाइज्ड लाइट भेहिकल्स टेष्ट प्रोसिडूयर’ (डब्लूएलटीपी) ले ३०५ किलोमिटर रेन्ज दिने जनाएको छ ।

नेपाली सडकमा यसअघिको कोना चालकले २८० देखि २९० किलोमिटरसम्म रेन्ज पाउने गरेको बताएका छन् । नयाँ मोडलको रेन्ज अझ मजबुद भएको मानिन्छ । नेपालको सडक उकालो र ओरालोले भरिपूर्ण रहेको कारण इभीले उकालोमा धेरै खर्च र ओरालोमा रिजेनेरेशन गर्ने गरेको पाइन्छ । रिजेरेशनको लागि कोनामा सहजै लेभल अनुसारको व्यवस्था गर्न सकिन्छ । लेभल मिलाउन प्याडल सिफ्टको सहायता लिनु पर्ने हुन्छ ।

कोनाको सेन्टर कन्सोल निकै प्रिमियम रहेको छ । सेन्टर कन्सोलमा रहेका बटमहरुको प्रयोगबाट सहजै गाडीलाई कमान्ड दिन सकिन्छ ।

पार्किङ ब्रेक, ड्राइभ मोड, न्यूट्रल र रिभर्स बटम कन्सोलमा दिइएको छ । चालकको आवश्यकता अनुसार टिल्ट र टेलिस्कोपीक एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वील, अटो लाइट कन्ट्रोल, अटो डिफगर, हिल एसिस्ट कन्ट्रोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल जस्ता फिचरले यसलाई अब्बल बनाएको छ ।

चालकले आफ्नो चाहना र सडकको अवस्था अनुसार इकोनोमी, कम्फर्ट र स्पोर्ट मोड मध्ये कुनै एक छनोट गरेर कोना चलाउन सक्नेछन् । वायरलेस चार्जरले मोवाइल चार्ज गर्न सहज बनाएको छ ।

कोनामा १० इन्चको इन्फर्मेशन क्लष्टर, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, लेदरले मोरिएको स्टेरिङ ह्वील, लेदर सिट जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षाको लागि एयरव्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, रिभर्स पार्किङ सेन्सर सहितको क्यामेरा, अटो होल्ड, टायर प्रेसर मोनिटरिङ, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक फिचर दिइएको छ ।

नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध कोनाको जीएल भेरियन्टको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ रहेको छ भने जीएलएस भेरियन्टको मूल्य ६० लाख ९६ हजार रुपैयाँ रहेको छ ।


Back_to_top