काठमाडौं । महिन्द्राको आधिकारीक विक्रेता अग्नी ग्रुपले आफ्नो ३० वर्षे यात्रा पूरा गरेको छ । महिन्द्राको ट्याक्टरदेखि एसयूभीसम्मको विक्रेता रहेको कम्पनीले आफ्नो यादगार ३ दशक पूरा भएको हो ।
विगत ३० वर्षमा अग्नीले असफलता, अन्योलसँगै अपत्यारिलो व्यवसायिक सफलता पाउन सफल भएको छ । आफ्नो ३० वर्षे यात्रामा कम्पनीले नेपालको हरेक कुनामा आफ्नो सेल्स, सर्भिस र स्पेयर पार्टस्को उपलब्धता गराउन सफल भएको छ ।

‘अग्नीले आफ्नो यात्राको सुरूआत निकै कठिन तरिकाले सुरू गरेको थियो । ट्याक्टर व्यवसायबाट प्रवेश गरेको कारण पनि त्यसको व्यवसाय बुझ्नै ६ वर्ष लागेको थियो’, व्यवसायिक सुरूआतका दिन सम्झँदै अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्यावनेट श्रेष्ठले मेरो अटोसँग भने ।
महिन्द्राले अहिले ट्याक्टर, पीकअप र एसयूभी बजारमा उपलब्ध गराउँदै आएको छ । नेपाली बजारमा आफ्नो अलग पहिचान निर्माण गर्ने क्रममा तीन मुख्य विषयलाई टर्निङ प्वइन्टको रूपमा लिन सकिन्छ ।
१. पीकअपको आगमन
सन् २००० को आगमनसँगै बोलेरो पीकअप नेपाली बजारमा आएको थियो । सुरूका वर्षमा बलेरोले कुनै चमत्कार देखाउन सकेन । ग्राहकले यसको प्रयोगका विषयमा ढुक्क बन्न नसक्दा पहिलो वर्ष १५ यूनिट मात्रै विक्री भएको थियो ।

विगतमा पीकअप सेग्मेन्टमा रहेको विक्रीलाई सम्झँदै प्रबन्ध निर्देकश श्रेष्ठ भन्छन्, ‘पीकअपको विक्री १०० यूनिट पुग्न ५ वर्ष लागेको थियो । त्यसपछि यसको विक्रीमा उछाल आएको हो । अहिले खुसी लाग्छ कुनै दिन एउटा पीकअप किनेर ब्यवसाय गर्ने मानिससँग १२/१५ वटासम्म पीकअप छ ।’
पहाडको जस्तोसुकै बाटोमा पनि सामान र मानिस ओसारपसार गर्न सहयोगी बन्दै आएको बोलेरो एसयूभी भने अहिले बन्द भएको छ । ७ जना मानिस बस्न मिल्ने बोलेरो एसयूभी अहिले पनि धेरै मानिसले खोज्ने गरेको श्रेष्ठको भनाइ छ ।
२. अनमिनले खरिद गरेको स्कर्पियो
सन् २००४ मा पहिलो पटक आएको स्कर्पियो अहिले चल्तीको एसयूभी हो । नेता, एनजीओ, आइएनजीओ, सरकारी कार्यालय, स्थानीय निकाय र प्रदेश सरकारको पार्किङमा सबैभन्दा धेरै भेटिने स्कर्पियो निकै सफल मोडल हो ।
नेपाल आएको ४ वर्षसम्म खासै व्यापर गर्न नसकेको स्कर्पियो अनमिनको छनोटमा परेसँगै चर्चा बटुल्न सफल भयो ।

स्कर्पियोको सफलतापछि मात्रै महिन्द्राले नेपालमा व्यवसायिक सफलता पाएको बताउँदै प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्, ‘एकै पटक ८० भन्दा धेरै यूनिट गाडी अन्य कम्पनीले सप्लाई दिन सक्ने अवस्था थिएन । हामीले भनेकै समयमा डेलिभरी दियौं । त्यही हाम्रो लागि टर्निङ प्वइन्ट भयो । अर्को भारतीय अनुदानमा करिब ८०० यूनिट स्कर्पियो अनुदानमा दिइयो । ती सबै गाडी हामीले एक महिनामा डेलिभरी दियौं । त्यसपछि स्कर्पियो सडकमा टन्न देखियो, यसको पर्फमेन्सले अरूलाई लोभ्यायो ।’
अहिले पनि स्कर्पियो नेपालमा पाइने सबैभन्दा कम मूल्यको फोर ह्वील ड्राइभ मोडल हो । यसको प्रयोग निजीसँगै भाडामा पनि चल्दै आएको छ । यो नेपालको विकट पर्यटकीय क्षेत्रमा मानिस बोक्ने साधन बन्न सफल भएको छ ।
३. विद्युतीय गाडीमा स्थापित पहिचान
नेपालमा विद्युतीय गाडीको आयात सुरू गर्ने कम्पनी पनि महिन्द्रा हो । भारतीय उत्पादकले ल्याएको रेभा, रेभा इटुओ र ई-भेरिटो जस्ता मोडल नेपाल आएका थिए । सन् २०१० बाट रेभा आएको थियो भने २०१२ बाट इटुओ र २०१९ मा इभेरिटो आएको थियो ।
आफूहरूले इलेक्ट्रीक कारमा निकै राम्रो आतावरण निर्माण गरेको भए पनि इटुओको उत्पादन बन्द हुँदा विक्री भने उत्सहजनक हुन नसकेको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘यो वर्षबाट अर्को जेनेरेशनका विद्युतीय गाडी नेपाल ल्याउने छौं । अब आउने गाडी धेरै रेन्ज र लग्जरी फिचरले भरिपूर्ण हुनेछ ।’

अन्त्यमा, महिन्द्रा अहिले नेपालमा चल्तीको ब्राण्ड हो । विशेषतः पहाडी बाटोको लागि उपयुक्त गाडी धेरै विक्री गर्ने महिन्द्राले थप नयाँ मोडल ल्याएर आफ्नो ब्राण्डको बजार हिस्सालाई थप बलियो बनाउन लागिरहेको छ ।
कम्पनीले नयाँ जेनेरेशन थार, एक्सयूभी ७००, बलेरो नियो जस्ता कम्बस्चन इन्जिन युक्त गाडी नेपाल ल्याउने छ भने विद्युतीय गाडीमा पनि केही मोडल ल्याउने अनुमान गर्न सकिन्छ ।
विगत ३० वर्षमा कम्पनीले बनाएको छवि, नेटवर्क, सर्भिस र सन्तुष्ट ग्राहकको कारण महिन्द्राको आगामी दिन थप सहज र उज्वल हुने सहजै अनुमान गर्न सकिन्छ ।

