काठमाडौं । ब्यवसायीक समूह शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले अर्को ब्राण्ड नेपाल ल्याएको छ । कम्पनीले चिनियाँ ब्राण्ड जियाङलीङ मोटर कर्पोरेशन (जेएमसी)को पीकअप नेपाल ल्याएको हो । कम्पनीले यसअघि प्रोटन ब्राण्डका कार नेपाल ल्याएर विक्री गर्दै आएको छ ।
अमेरिकी कम्पनी फोर्डसँगको सहकार्यमा चीनमा सवारीसाधन उत्पादन गर्दै आएको जेएमसीले धेरै रेन्जमा पीकअपहरु उत्पादन गर्दै आएको छ । जगदम्बा मोटर्सले नेपाल ल्याएको पीकअपहरु भन्सारमा आइपुगेका छन् ।
कम्पनीले आधिकारीक रुपमा जानकारी नदिएपनि जेएमसी युहु पीकअप नेपाल आएको हुनसक्ने हाम्रो अनुमान रहेको छ । जेएमसी ग्रुपले मिनीबस, इभी बस, एसयूभी, लाइटल कमर्शियल भेहिकल तथा प्यासेन्जर इभी कारको उत्पादन गरिरहेको कारण जगदम्बा मोटर्सले चाँडै अन्य मोडल र इलेक्ट्रीक कार पनि ल्याउने सहजै अनुमान गर्न सकिन्छ ।
नेपाल आउदै गरेको जेएमसी पीकअपको बाहिरी आवरण धेरै हदसम्म फोर्डको रेन्जरसँग मिल्दोजुल्दो देखिन्छ । २.० लिटर टर्बो डिजेल इन्जिनमा आउने जेएमसी युहु पीकअपमा ६ स्पीडको म्यानुयल र अटोमेटिक गियरबक्स रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम १४२ पीएस पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।
फ्रन्ट ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा रहेको जेएमसी पीकअप नेपालमा भने फोर ह्वील ड्राइभ अप्सनमा आउनेछ । यसको मूल्य ६० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।

