काठमाडौं । हुन्डाईले केही समय अघि नेपाल ल्याएको आयोनीक-५ ‘सोल्ड आउट’ भएको छ । विशेषत प्रिमियम गाडी खोज्नेहरुको रोजाईमा परेको आयोनीक-५ नेपाल ल्याउने तयारी हुँदा देखिनै किन्ने मानिस बुकिङ गरेर बसेका थिए ।
‘बैंकिङ निकै कठिन भएको समयमा आएकोले ग्राहकलाई प्रक्रिया पुरा गरेर गाडी लान केही समय लागेको हो । गाडी त नेपाल ल्याउने प्रक्रिया सुरु गर्दा नै सोल्ड आउट भएको हो’, हुन्डाईको थापाथली शोरुममा रहेका एक कर्मचारीले भने ।
आयोनीक-५ ले संसारभर रहेका क्लासिक लुक्समा गाडी चाहनेहरुलाई कायल बनाएको छ । नेपालमा अहिले पनि थुप्रै यूनिट बुकिङ रहेको कम्पनीले जनाएको छ ।
‘ग्राहकको आकर्षण निकै राम्रो छ । हामीलाई बुकिङ लिइदिन ग्राहकहरुले भनिरहनु भएको छ । तर, हुन्डाईले धेरै गाडी दिन सक्ने अवस्था छैन भनेको छ । त्यसैले कति बुकिङ लिने भन्ने नै अन्योलमा छौं’, हुन्डाईको थापाथली शोरुम इन्चार्ज दिवाकर रेग्मीले मेरोअटोसँग भने ।
ग्राहकले ठूलो रेन्जमा पनि गाडी ल्याइदिन आग्रह गर्न थालेको कम्पनीको भनाई छ । ग्राहकको अनुरोध अनुसार नै निकट भविष्यमा आयोनीक-५ को लङ्ग रेन्ज भेरियन्ट पनि नेपाल आउन सक्ने देखिएको छ । यद्यपि कुन रेन्जमा ल्याउन लागेको हो भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।
कम्पनीले नेपालमा विक्री गरेको आयोनीक-५ सोलार सहितको मूल्य ८१ लाख ९६ हजार र सोलार नभएको भेरियन्टको ८० लाख ९६ हजार रुपैयाँ निर्धारण गरेर विक्री गरेको थियो ।
छतमा शोलार प्यानल जडान भएको आयोनिक-५ मा ५८ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । यसलाई एक पटक फुल चार्ज गर्दा ३५० किलोमिटरभन्दा माथि रेन्ज दिने कम्पनीले जनाएको छ ।

