सौरभ ज्योतिले लिए नेपालमा बनेको पहिलो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । नेपालमा बनेको प्रिमियम इलेक्ट्रीक मोटरसाइकल यात्री ‘पी-०’ को पहिलो यूनिट सौरभ ज्योतिले डिलिभरी लिएका छन् । ज्योतिले सन् २०२० मा नै बुकिङ गरेको मोटरसाइकल अहिले यात्रीले डेलिभरी दिएको हो ।

योसँगै पूर्णत नेपालमा बनेको पहिलो इलेक्ट्रीक प्रिमियम मोटरसाइकल चढ्ने सौरभ ज्योति पहिलो ब्यक्ति भएका छन् । यात्रीले पी-० इलेक्ट्रीक मोटरसाइकललाई लिमिटेड एडिशनका रुपमा ल्याएको हो । यसअघि नै कम्पनीले यात्री पी-० मोटरसाइकल ५० यूनिट मात्र उत्पादन गर्ने जनाएको थियो ।

कम्पनीले यात्री ‘पी-१’ मास प्रडक्ट रुपमा सार्वजनिक गरेको छ । त्यस्तै कम्पनीले चाँडै नै इलेक्ट्रीक स्कुटरसमेत ल्याउने आफ्नो वेवसाइटमा उल्लेख गरेको छ ।

यस्तो छ ज्योतिले किनेको यात्री पी-०

यात्रीले यो मोटरसाइकलमा ४८ किलोवाटको (६४ हर्सपावर) मोटर प्रयोग गरेको छ । अहिले बजारमा रहेका अन्य इलेक्ट्रीक मोटरसाइकलको तुलनामा यसको पावर अत्यन्त धेरै हो । यसको टर्क पनि ६५० एनएम रहेको छ ।

यसलाई एक पटकको फुल चार्जमा २३० किलोमिटरसम्म चलाउन सकिन्छ । यसमा ८ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री रहेको छ । यसलाई चार्ज गर्न ३.३ किलोवाटको चार्जर दिइएको छ । उक्त चार्जरले २ घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्छ ।

० देखि ६० किलोमिटरको स्पीड २.५ सेकेन्डभन्दा कम समयमा भेट्टाउन सक्छ भने यो मोटरसाइकलको टप स्पीड १४० किलोमिटर रहेको छ ।
यो मोटरसाइकल पावरको हिसावले केटीएम ड्यूक ३९०, रोयल इन्फिल्डलगायत मोटरसाइकललाई जित्ने किसिमको छ । यसका डिजाइनर तथा यात्रीका प्रमुख असिम पाण्डेका अनुसार यसमा लागेका हरेक पाटर्स प्रिमियम छन् भने, यसको मुख्य आकर्षण डिजाइन र प्रिमियमनेश हो । यसको मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top