६० देखि ६५ लाखको एसयूभी किन्नेले हेर्नै पर्ने ६ मोडल

काठमाडौं । नेपाली बजारमा २० लाखदेखि ५ करोडसम्मका चार पाङ्ग्रे गाडी विक्री हुँदै आएका छन् । पछिल्ला वर्षहरु धेरै ग्राहकको रोजाईमा कारभन्दा एसयूभी पर्न थालेसँगै उत्पादकको प्राथमिकतामा पनि एसयूभी नै धेरै पर्न थालेको छ ।

विशेषत भारतमा उत्पादन हुने एसयूभी सेग्मेन्टमा सब फोर मिटर र मिडसाइज एसयूभीहरु परिरहेको छ । सब फोर मिटर एसयूभीको मूल्य नै ५० लाख हाराहारी पर्न थालेको बजारमा ठिक्क फिचर पाउन सकिने मिडसाइज एसयूभीको मूल्य ६० देखि ६५ लाख पर्न थालेको छ ।

नेपाली बजारमा हुन्डाई, किया, एमजी, निसान, स्कोडा र फक्सवागेनले ६० देखि ६५ लाखमा मिडसाइज एसयूभीहरु विक्री गर्दै आएको छ । यदि तपाई पनि यो बजेटमा एसयूभी किन्न खोज्दै हुनुहुन्छ भने यी मोडलको एक पटक टेष्ट ड्राइभ गरेर निर्णय लिन सक्नु हुन्छ ।

हुन्डाई क्रेटा एसएक्स

नेपाली बजारमा सबैभन्दा चर्चित मिडसाइज एसयूभी हुन्डाई क्रेटा हो । आकर्षक लुक्स, स्पेसियस क्याविन र लग्जरीयस राइड भएका कारण मिडसाइज एसयूभी खोज्ने ग्राहकहरुको पहिलो रोजाई क्रेटा हुने गरेको छ । सन् २०१६ बाट विक्री भइरहेको क्रेटाको ‘भ्यालुफर मनी’ भेरियन्ट एसएक्स हो ।

प्यानारोमीक सनरुफ, डिजिटल हेडलाइट तथा आकर्षक ड्यासबोर्ड भएका कारण यो मोडल सबैभन्दा बढी संख्यामा पनि विक्री हुने गरेको छ । हाल क्रेटा एसएक्सको मूल्य ६३ लाख ५६ हजार रहेको छ ।

निसान किक्स एक्सभी प्रिमियम

जापानीज अटोमोवाइल कम्पनी निसानको नेपाली बजारमा राम्रो स्थान रहेको छ । निसानले भारतमा बनाएको मिडसाइज एसयूभी किक्स राम्रो मूल्यमा धेरै फिचर पाउन सकिन्छ । ६० लाख बजेट हुनेहरुका लागि किक्सको एक्सभी प्रिमियम मोडलको डिजेल भेरियन्ट पाउने सकिन्छ ।

कम्पनीले यो भेरियन्टको मूल्य ६० लाख ९९ हजार राखेको छ । डिउलटोन कलरमा पाउने सकिने यो एसयूभीमा डिजेल पावरका साथै २० किलोमिटर प्रति लिटरसम्म माइलेज पाउन सकिने कम्पनीको दावी छ ।

किया सेल्टोस एचटीएक्स

कोरियन अटोमोवाइल कम्पनी कियाले भारतमा बनाएको सेल्टोस अहिले नेपालमा हटकेट रहेको छ । नयाँ लुक्स आकर्षक डिजाइन तथा बोल्ड अवतारका कारण सेल्टोस नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल भएको हो ।

आकर्षक हेडलाइट तथा नयाँ प्रविधिको एलइडी डीआरएल लाइटका कारण सेल्टोस अन्य कारहरुभन्दा निकै फरक र आकर्षक देखिन्छ । सेल्टोसको दुईवटा भेरियन्ट ६० देखि ६५ लाख भित्र किन्न पाइन्छ । त्यसमध्य सेल्टोसको एचटीएक्स म्यानुयल भेरियन्ट उपयुक्त रहेको छ । १७ इन्चको अलोय ह्वील र रुफ र्याकका कारण यो एसयूभी स्पोर्टी देखिन्छ ।

एमजी हेक्टर साइन

मोरिस ग्यारेजले भारतको प्लान्टमा बनाएको पहिलो गाडी हेक्टर हो । भारतीय बजार तथा बाटोलाई मध्यनजर गरेर बनाइएको हेक्टर मिड साइज एसयूभी खोज्ने ग्राहकहरुका लागि एक नयाँ अप्सन हो ।

एमजीले यसमा १.५ लिटरको टर्बो पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले १४३ पीएस पावर तथा २५० एनएम टर्क जेनेरेट गर्छ । ठूलो साइज २६.४ सेमीको भर्टिकल इन्फोटेन्मेन्ट स्कृन, अटोमेटिक गियरबक्स, इलेक्ट्रीक सनरुफ तथा अत्याधुनिक फिचरहरु रहेको हेक्टरको साइन भेरियन्टको मूल्य ६१ लाख ४९ हजार रहेको छ ।

कुशक

स्कोडाले नेपालमा विक्री गर्दै आएको कम्प्याक्ट एसयूभी कुशक निकै सफल हुँदै गएको मोडल हो । १.० लिटर टीएसआई इन्जिनको कारण यसको पावर अन्य १.५ लिटर इन्जिन भएको गाडी जतिनै पाउन सकिन्छ भने उच्च माइलेजले यसलाई खोज्ने बढ्दै गएका छन् ।

स्कोडाले विक्री गर्ने कुशकको स्टाइल भेरियन्टको मूल्य ६० लाख ९० हजार रुपैयाँ रहेको छ । आकर्षक लुक्स, यूरोपियन सेफ्टी र फिचर लोडेड भएको कारण कुशक सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनेको छ ।

फक्सवागेन टाइगुन

सेग्मेन्टकै सबैभन्दा फ्रेस मोडल टाइगुन फक्सवागेनको चर्चित डिजाइनमा तयार भएको एसयूभीहो । अहिले नेपाली बजारमा तीन भेरियन्टमा विक्री हुँदै आएको छ । यसको हाइलाइन भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

टाइगुनमा पनि १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर १७८ एनएम टर्क प्रदान गर्छ । साथै, यसको माइलेज पनि निकै उत्कृष्ट रहेको छ ।


Back_to_top