महंगो भयो निसान लिफ, यस्तो छ बढेको मूल्य

काठमाडौं । निसान पहिलो इलेक्ट्रीक कार लिफको मूल्य बढेको छ । गत सेप्टेम्बरबाट नेपालमा विक्री सुरु भएको लिफको मूल्य ३ लाख रुपैयाँले बढेको हो ।

यसअघि ५९ लाख ९९ हजार मूल्य तोकेर विक्री गरिएको लिफको नयाँ मूल्य ६२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

निसान लिफको एक मात्र भेरियन्ट नेपाल ल्याएको पायोनियर मोटो कर्पले करिब ३० यूनिट लिफ विक्री गरिसकेको छ । विद्युतीय कारको सप्लाइमा समस्या भोगिरहेको कम्पनीले चाँडै २०२२ मोडल ग्राहकलाई हस्तान्त्रण गर्ने तयारी गरेको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा गाडीको मूल्य बढी रहेको छ भने इभीको लागि चाहिने ब्याट्रीको मूल्यपनि लगातार बढीरहेको छ । त्यसैले हामीले मूल्य बढाउनु परेको हो’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

निसान लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । तर, सडकको अवस्था, वातावरण जस्ता विषयले यसको रेन्ज निर्धारण हुने हुँदा करिब ३०० किलोमिटर रेन्ज आउने अनुमान गर्न सकिन्छ ।

कारमा व्याट्री बचतको लागि विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ । ईको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशत बढी रेञ्ज आउने कम्पनीले दाबी गरेको छ ।

यसमा दिइएको व्याट्रीलाई घरायसी विद्युतवाट ३ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्दा करिब १६ घन्टा लाग्ने छ भने, ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिन्छ । यसलाई डिसी फास्ट चार्जरले चार्जगर्दा ८० प्रतिशतसम्म चार्ज गर्न ६० मिनेट लाग्ने छ ।


Back_to_top