काठमाडौं । नेपाल राष्ट्र बैंकले देशले थेग्नै नसक्नेरी आयात भएको र वैदेशिक मुद्रा संचिति पनि तिब्र गतिमा घटेको भन्दै वाणिज्य बैंकहरुलाई एलसी (प्रतितपत्र) नखोल्ने भनेसँगै सवारीसाधन र त्यसमा लाग्ने सम्पूर्ण पार्टस् आयात रोकिने भएको छ ।
भन्सार विभागको अनुसार चालु आर्थिक वर्षको ८ महिनामा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको देखिन्छ । ति बस्तुको आयातबाट भन्सार विन्दुमा ३ खर्ब ३३ अर्व १ करोड १३ लाख ६५ हजार रुपैयाँ राजस्व तथा अन्तःशुल्क उठाएको छ ।
तर, सरकारले निकै विलासी र आवस्यकता भन्दा बाहिर सोचेर उच्च कर लगाएको सवारी साधन र त्यसको मर्मत सम्भारको लागि आवस्यक पार्टस्को आयातमा चालु अबको ८ महिनामा ७५ अर्व ५० करोड ५ लाख ७ हजार रुपैयाँ खर्च भएको छ । जुन कुल आयातको हिस्साको ८ प्रतिशत हाराहारी हो ।
भन्सार राजस्वको सबैभन्दा ठूलो हिस्सा सवारीसाधनले नै ओगटेको छ । भन्सार विन्दुमा संकलन हुने राजस्वको करिब २२ प्रतिशत बराबरले हुन आउने ७० अर्व ७ करोड ६० लाख ८५ हजार रुपैयाँ यही क्षेत्रबाट सरकारले उठाउँदै आएको छ ।
अहिले सम्पूर्ण स्पेयर पार्टस्को आयात समेत रोक्न मौखिक निर्देशन भएको कारण बजारमा पार्टस्को समस्या हुने देखिन्छ । साथै, चोरीको बाटो भएर पार्टस् आउने सम्भावना पनि त्यतिकै छ ।
‘सही तरिकाले ब्यवसाय गर्ने व्यवसायीलाई अफ्ठ्यारोमा पारेर चोरीका सामान ल्याउन प्रोहोत्साहन गर्ने काम राष्ट्र बैंकको नीतिले गरेको छ । अत्यावश्यक सेवामा प्रयोग हुने पार्टस्को आयात रोकिदा भोलि जटिल सामान चाहिने गरी कुनै अत्यावश्यक सेवाका गाडी विक्री भने पनि सर्भिस दिन सक्ने अवस्था छैन’, नाडाका उपाध्यक्ष सुनिल रिजालले मेरोअटोसँग भने ।
त्यसैगरी अधिकांश परिमाण यातायातका साधनले खपत गर्ने पेट्रोलियम पदार्थ पनि चालु आवको ८ महिनामा १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यसमा पनि सरकारले भन्सार बिन्दुमा नै ६४ अर्व ६९ करोड ३३ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।


