ट्राफिक कारबाहीबाट लमजुङमा ५६ लाख राजश्व

बेँसीशहर । आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट  ५६ लाख नौ हजार रुपैयाँ राजश्व संकलन भएको छ । 

जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो । 

सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । 

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन् । यस क्रममा ३ हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ । 

ट्राफिक प्रहरीका अनुसार जिल्लामा २ हजार ३२१ जिप÷कार÷भ्यान चालक, एक हजार २२७ ट्याक्टर चालक, एक हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । 

चारपांग्रे साना सवारीसाधनका चालकबाट १४ लाख २६ हजार, ट्याक्टर चालकबाट ९ लाख २२ हजार, ट्रक चालकबाट ७ लाख र बस चालकबाट ३ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । 

गत आवको तुलनामा ९ लाख १६ हजारभन्दा बढी राजश्व संकलन भएको छ । गत आवमा सात हजार ५०३ सवारीसाधनका चालकलाई कारबाही गरी ४६ लाख ९३ हजार रुपैयाँ राजश्व संकलन गरिएको थियो । 


Back_to_top