काठमाडौं । अबको तीन दिन पश्चात् त्रिवेणी ग्रुपले रोयल इनफिल्डका मोटरसाइकल विक्री सुरु गर्ने भएको छ । मे ८ तारिखपछि त्रिबेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोबाइलले नयाँ मोडलका साथ विक्री सुरु गर्नेछ ।
रोयल इनफिल्डको आधिकारिक विक्रेता परिर्वतन भएसँगै ग्राहकले नयाँ मोडलका मोटरसाइकलसमेत खरिद गर्न पाउने भएका हुन् । यद्यपि नयाँ डिलर नियुक्तीसँगै शोरुम निर्माणको काम सक्न अल्फा अटोमोबाइललाई थप केही समय लाग्ने छ ।
ठूला सीसी क्षमताको मात्रै मोटरसाइकल बजारमा ल्याउँदै आएको रोयल इनफिल्डले थप आकर्षक मोडल बजारमा ल्याउने तयारी गरेको छ । यसअघिको आधिकारीक विक्रेता एमभी दुगड ग्रुपले एलेक्ट्रा, हिमालयन, कन्टिनेन्टल जीटी र इन्टरसेप्टर जस्ता मोडलको विक्री बन्द गरेको थियो । अब यी मोडल पनि नेपाल आउने छन् ।
देशभर डिलर नेटवर्क विस्तार गर्दै आक्रमक बजार विस्तारको योजना बनाएको अल्फा अटोमोटीभ्सले नयाँ डिलर आह्वान गर्दा नै क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीअर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु विक्री वितरण गर्ने उल्लेख गरेको थियो ।
हाल रोयल इनफिल्ड विक्री गर्दै आएको एमभी दुगड ग्रुपले क्लासीक ३५० र मेटीअर मात्र उपलब्ध गराउँदै आएको थियो । रोयल इनफिल्ड क्लासिक मोटरसाइकल उत्पादन र विक्री वितरणमा विश्वकै चर्चित ब्राण्ड हो । विश्वयुद्धमा सेनाले प्रयोग गरेको इतिहास भएकै कारण यसलाई धेरैले आफ्नो पहिलो रोजाइ बनाउने गरेका छन् ।
नेपालमा पनि विशेषत समूहमा घुम्न निस्कने युवाहरुको रोजाइमा रोयल इनफिल्ड पर्दै आएको छ । साथै, आगामी दुई वर्ष भित्र ८ वटा नयाँ मोडल बजारमा ल्याउने योजना बनाएको रोयल इनफिल्डको नयाँ यात्रा कस्तो रहन्छ, त्यो हेर्न भने केही महिना कुर्नु पर्ने हुन्छ ।


