विद्युतीय साधनमा आगलागीः पाँच कुरामा ध्यान नदिए जोखिम धेरै

काठमाडौं । इलेक्ट्रीक सवारी साधनको प्रयोग बढ्दै जाँदा आगलागीका घटनाहरु पनि बढ्न थालेका छन् । अहिले विशेषत दुई र चार पाङ्ग्रे साधनको प्रयोग बढ्दै गएको समयमा आगलागीका घटना बढ्न थालेका हुन् ।

पछिल्ला घटनाक्रमले दुई पाङ्ग्रे विद्युतीय साधन विशेषत स्कुटरहरुमा आगलागीका घटनाहरु बढिरहेका छन् । कति साधन चार्जिङको क्रममा आगलागीमा परेका छन् भने केही पार्किङ वा सडकमा गुढ्दा गुढ्दै आगलागी भएका छन् ।

यसरी आगलागी हुँदा अधिकांश घटना ब्याट्रीसँग जोडिएर आउने गरेका छन् । ब्याट्रीमा भएको खरावीको कारण आगलागी हुँदा सामान्य पानी छेपेर निभाउन सम्भव नै हुँदैन । यसरी हुने आगोलागी रोक्न ‘फायर एक्टेन्गुसर’ कै आवश्यकता पर्छ । यस्तोमा हामीले इभीमा आगलागी हुन सक्ने मुख्य ५ कारणको विषयमा चर्चा गरेका छौं ।

१. सर्ट सर्किट

विद्युतीय उपकरणहरुमा आगलागी हुने पहिलो कारण सर्ट सर्किट हो । वायरिङमा खराबी हुनाले वा ब्याट्रीका सेल फुट्नाले तापक्रम बढ्न गएसँगै सर्ट सर्किट हुन सक्छ । सर्ट सर्किट हुँदा पहिला धुँवा आउने र त्यसपछि आगो दनकने हुन्छ ।

२. खराव चार्जर

कुनै पनि डिभाइसको मुख्य कम्पोनेन्ट चार्जर हो । इभीको पनि मुख्य कम्पोनेन्टमा चार्जर पर्छ । इलेक्ट्रीक भेहिकल चलाउनका लागि ब्याट्रीबाट पावर सप्लाई हुन्छ र ब्याट्री विस्तारै डिस्चार्ज हुुन्छ । यस्तोमा रिचार्ज गर्नका लागि चार्जरको प्रयोग गर्नु पर्छ ।

चार्जरलाई विजुलीको सकेटमा जोडेर ब्याटी चार्ज गरिन्छ । यदि चार्जर खराव वा दोषपूर्ण भएमा पनि आगलागी हुन सक्छ । खराब चार्जरले आवश्यकता भन्दा कम वा बढी बिजुली प्रवाह गरेर आगलागी गराएका धेरै घटनाहरु छन् । त्यसैले इभी चार्ज गर्दा गुणस्तरिय चार्जर प्रयोग गर्नु पर्छ ।

३. ब्याट्रीको गुणस्त

चार पाङ्ग्रे सवारीहरुमा प्रायः धेरैवटा सेलहरु प्रयोग गरेर ब्याट्री प्याक बनाएको हुन्छ । यस्ता धेरैवटा सेलहरु मध्य कुनै एक सेलमा खरावी भएमा पनि त्यसबाटै फैलिएर ठूलो आगलागी गराउन सक्छ । खराब भएको सेल चार्ज गर्दा वा सवारी संचालन गर्दा डिस्चार्ज हुँदा त्यसको तापक्रम बढ्ने हुनाले आगलागी भएको अनुसन्धानबाट पत्ता लागेको छ ।

४. बीएमएसमा खरावी

इलेक्ट्रीक भेहिकलको अर्को मूख्य कम्पोनेन्ट ब्याट्री मेनेजमेन्ट सिस्टम (बीएमएस) हो । यसले ब्याटीको तापक्रमलाई नियन्त्रणमा राख्ने काम गर्छ । साथै, यसले नै ब्याट्री चार्ज र डिस्चार्जको स्पीड र साइकललाई कन्ट्रोलमा राख्ने काम गर्छ । त्यसैले यदि बीएमएसमा खरावी आएमा ब्याट्रीको टेम्प्रेचर बढ्न जाँदा आगलागी हुन सक्छ ।

५. दुर्घटना

सवारी साधन सधैँ गतीमा हुने भएकाले कुनै दुर्घटना भएमा सवारीसाधन सँगै जनधनको ठूलो क्षती हुनसक्छ । इलेक्ट्रीक भेहिकल पनि दुर्घटना हुदाँ ब्याट्री फुट्ने सम्भावना धेरै हुन्छ । दुर्घटनामा सवारी साधन भित्र रहेका विभिन्न प्रयोजनको आयलहरु पनि पोखिने भएकाले झन् ठूलो आगलागी हुन्छ ।


Back_to_top