‘लाइफस्टाइल एसयूभी सेग्मेन्ट’मा जीपको अर्को खोज, चाँडै नेपाल आउने

काठमाडौं । ‘अमेरिकन आइकनिक एसयूभी मेकर’ जीपले आफ्नो नयाँ पुस्ताको ‘प्रिमियम एसयूभी’ मेरिडियनलाई अगाडि सारेर भारतमा आफ्नो विक्रीलाई दुई गुणाले बढाउने लक्ष्य लिएको छ । गत मंगलबारबाट उत्पादन सुरु गरिएको जीप मेरिडियनबाट नै ‘लाइफस्टाइल एसयूभी सेग्मेन्ट’को नेतृत्व गर्ने योजना अमेरिकी ब्रान्डले बनाएको छ ।

करिब ८२ प्रतिशत स्थानीय कच्चा पदार्थलाई लिएर निर्माण गरिएको जीपको पहिलो ‘डी’ सेग्मेन्टको एसयूभी मेरिडियनले बढ्दै गएको प्रिमियम एसयूभी सेग्मेन्टमा जीपको प्रतिनिधित्व बलियो बनाउने लक्ष्य लिएको छ । नयाँ मेरिडियन थपिएपछि भारतमा जीपको वार्षिक विक्री २५ हजारदेखि ३० हजार युनिटसम्म पुग्ने आँकलन कम्पनीले गरेको छ ।

स्टेलेन्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक रोल्यान्ड बौचराले आफ्नो उपस्थिति रहेको हरेक सेग्मेन्टमा जीपले ‘जबरजस्त परिणाम’ दिँदै आएको बताए । उनका अनुसार जीप मेरिडियनलाई जीपले ‘एग्रेसिभ प्लान’ अनुसार नै भारतमा उतारेको हो ।

‘प्रिमियम सी सेग्मेन्टमा कम्पासको बजार हिस्सा ७० प्रतिशतभन्दा बढी छ र प्रिमियम लाइफस्टाइल एसयूभी सेग्मेन्टलाई पनि जीप र्याङलरले स्पष्ट रुपमा नेतृत्व गरिरहेको छ । जीप मेरिडियनबाट पनि हामीले यस्तै अपेक्षा गरेका छौं । यसले पक्कै पनि प्रिमियम थ्रि रो एसयूभी सेग्मेन्टमा महत्वपूर्ण बजार हिस्सा ओट्न सफल हुनेछ,’ उनले भने ।

सन् २०२१ मा नयाँ कम्पास सार्वजनिक गरेपछि जीपले भारतमा सीकेडी (कम्प्लिटली नक–डाउन युनिट) जीप र्याङलरको उत्पादन थालेको थियो । यो महिनाबाट मेरिडियनको उत्पादन थालेको जीपले केही समयमै स्थानीय रुपमै ग्रयान्ड चेरोकी पनि बनाउनेछ । यसले भारतलाई संयुक्त राज्य अमेरिकाबाहिर चार वटा मोडेल स्थानीय रुपमा उत्पादन गर्ने एउटै मात्र मुलुक बनाउनेछ । र यसले भारतीय बजार रणनीतिक रुपमा जिपका लागि कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।

गत वर्ष मासिक सात सयदेखि आठ सय युनिटको विक्री रहेको जीपले नयाँ कम्पासलाई सार्वजनिक गरेपछि यो वर्ष मासिक १२ सयभन्दा बढी विक्रीको रेकर्ड राख्दै आएको छ ।

जीप मेरिडियनको सीधा प्रतिस्पर्धा टोयोटा फच्र्युनर र फोर्ड एभरेष्टसँग हुनेछ । जीपले मेरिडियनको मासिक विक्री पनि कम्पासको संख्या जति नै हुने अपेक्षा गरेको छ ।

जीपका अनुसार रञ्जनगाउँस्थित प्लान्टबाट वार्षिक १५ देखि १७ हजार युनिट मेरिडियनको उत्पादन गरिनेछ । यसले भारत लगायत ‘राइट ह्यान्ड ड्राइभ’ मुलुकहरुमा जीपको ‘सेल्स भोल्युम’ दुई गुणाले बढाउनेछ ।

मेरिडियनको डिजाइन, इन्जिनियरिंग र ट्युनिंग भारतका खराब सडक अवस्थालाई सुहाउँदो र यो सेग्मेन्टका ग्राहकले अपेक्षा गरेका परिमार्जनहरुलाई ध्यानमा राखेर बनाइएको दाबी जीपले गरेको छ ।

जुन महिनाबाट भारतमा डेरिभरी सुरु हुने जीप मेरिडियन त्यस लगत्तै नेपालमा पनि आउनेछ ।


Back_to_top