अर्थमन्त्रीलाई गगन थापाको प्रश्नः इभीलाई राजश्वको चस्माले हेर्न मिल्छ ?

काठमाडौं । संसदमा भइरहेको बजेट माथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका नेता गगन थापाले विद्युतीय गाडी माथिको कर बढाउनु पर्ने कारण कसरी अगाडि आयो भनेर प्रश्न गरेका छन् । उनले विद्युतीय गाडीमा कर लगाइएकोमा विरोध जनाएका हुन् ।

थापाले बजेट माथि छलफलमा भाग लिँदा आयात प्रतिस्थापन गर्ने विषयमा बजेट सकारात्मक भएपनि केही निर्णय मन्त्रालयको स्तरबाट हुनु पर्नेमा अर्थ मन्त्रालयले चलाएको आरोप लगाए ।

थापाले भने, ‘आयात घटाउने विषयमा बजेट बोल्यो, राम्रो भयो । तर, बजेटले भर्खर विक्री हुन थालेको विद्युतीय गाडीमा किन कर बढायो । त्यसलाई राजश्वको चस्माले हेरेर कर बढाइयो । यो किन आवश्यक भयो भन्ने मेरो प्रश्न हो ।’

उनले दिर्घकालीन फाइदा दिने क्षेत्रमा लक्ष्य हासिल गर्दा राजश्व अगाडि ल्याउन हुँदैन भन्ने धारणा राखेका थिए ।


Back_to_top