चर्चामा २५० सीसीको नयाँ रेट्रो मोटरसाइकल

काठमाडौं । चिनियाँ ब्राण्ड जोङसेनले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । चिनियाँ उत्पादकले २५० सीसी सेग्मेन्टमा ल्याएको नियो-रेट्रो मोटरसाइकल अहिले निकै चर्चामा रहेको छ ।

कम्पनीले ‘आरई-२५०’ मोडलको डिजाइनमा स्पोर्टी र रेट्रो लुक्सको मिश्रण दिएको छ । गोलो आकारको हेडल्याम्प र त्यसमाथि रहेको स्मार्ट इन्ट्रुमेन्ट क्लष्टरले यसको अगाडिको लुक्सलाई उत्कृष्ट बनाएको छ । सबै प्रकारका लाइट एलइडी प्रयोग भएको यो मोटरसाइकल निकै आधुनिक फिचरले भरिपूर्ण रहेको छ ।

जोङसेनले यो रेट्रो मोटरसाइकलमा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले २७.८७ पीएस पावर र २२ एनएम पिकटर्क प्रदान गर्छ । कम्पनीले यसमा दिएको इन्जिन अप्रिलियासँग मिलेर बनाएको हो । यसमा ६ स्पीड गियरबक्स दिएको छ ।

यो मोटरसाइकलमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ । यसको सिट हाइट ७७५ एमएम रहेको छ । मोटरसाइकलमा अगाडि ४१ एमएमको इन्भर्टेड फर्क र पछाडि मोनोशक सस्पेन्स दिएको छ । अगाडि ३०० एमएम र पछाडि २१८ एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा ड्यूल च्यानल एबीएस उपलब्ध रहेको छ ।

जोङसेनका उत्पादन नेपाली बजारमा विक्री वितरण हुँदै आएका छन् । यद्यपि नयाँ आरई–२५० नेपाली बजारमा ल्याउने छ वा छैन भन्ने विषयमा कुनै जानकारी उपलब्ध रहेको छैन ।


Back_to_top