काठमाडौं । अहिले भारतमा एक दर्जनभन्दा बढी ब्राण्डले गाडी उत्पादन र विक्री गर्दै आएका छन् । विश्वमै चीन, अमेरिका, जापान र जर्मनीपछि धेरै कार विक्री हुने भारतमा सबै कार उत्पादकको आँखा पर्नु स्वभाविक हो ।
विशेषत इन्डो–जापानी ब्राण्ड मारुती सुजुकी र कोरियन ब्राण्ड हुन्डाईको ठूलो बजार हिस्सा रहेको भारतीय बजारमा दुई भारतीय ब्राण्डले तिब्र बजार विस्तार गरिरहेका छन् । विश्वभर सेमी कन्डक्टरको अभाव सुरु भएसँगै तिब्र बजार विस्तार सुरु गरेको टाटाले हरेक महिना विक्रीमा उच्च वृद्धि पाउँदै आएको छ ।
सन् २०२१ मा तेस्रो स्थानमा आफुलाई उभ्याएको टाटाले सन् २०२२ को सुरुवातदेखि नै भारतीय बजारको विक्रीमा हुन्डाईलाई कडा टक्कर दिइरहेको छ । हिजो सार्वजनिक मे महिनाको विक्री तथ्यांकमा भारतीय बजारको विक्रीमा टाटाले हुन्डाईलाई एक हजारभन्दा बढी यूनिटले पछाडि पारेको छ । यसले कम्पनीको ग्रोथलाई कुन रफ्तारमा भएको छ, त्यो देखाउँछ । हुन्डाई भने अहिले पनि सेमी कन्डक्टरको समस्यासँग जुधिरहेको छ ।
महिन्द्रा एण्ड महिन्द्राले पनि नयाँ मोडल एक्सयूभी ७०० लन्च गरेसँगै आफ्नो वृद्धिलाई तिब्र गतिमा बढाएको छ । कम्पनीसँग अहिले सर्वाधिक विक्री हुने एक्सयूभी ७००, थार, बलेरो र स्कर्पियो मोडल रहेको छ । अहिले पनि करिब ७० हजार ग्राहक एक्सयूभी ७०० र करिब ५० हजार ग्राहक थार बुकिङ गरेर डेलिभरीको प्रतिक्षामा रहेको भारतीय मिडियाले उल्लेख गरका छन् ।
महिन्द्रा थप आक्रमक बजार विस्तारको रणनीतिमा रहेको छ । कम्पनीले नयाँ जेनेरेशन स्कर्पियो एन, एक्सयूभी ४००, केयूभी १०० इलेक्ट्रीक अबको केही महिना भित्रै बजारमा ल्याउने छ । योसँगै महिन्द्रा थप आक्रमक बजार विस्तारमा लाग्ने प्रस्टै देखिन्छ ।

टाटाको विक्रीमा सबैभन्दा धेरै भूमिका नेक्सन र पन्चको देखिन्छ । यी दुबै साना एसयूभीको हिस्सा करिब ६५ प्रतिशतसम्म रहेको छ । बाँकी अन्य एसयूभी र साना ह्याचव्याक विक्री भएका छन् । सन् २०२२ मा अल्ट्रोज इभी पनि टाटाले बजारमा ल्याउने योजना बनाएको छ । कम्पनीले आफ्नो उत्पादन बढाउन फोर्डको गुजरात प्लान्ट खरिद गर्ने योजना बनाइरहेको समाचारहरु आएका छन् ।
भारतीय दुई ब्राण्डले तिब्र बजार विस्तार गर्दा मारुती सुजुकी, हुन्डाई, होन्डा, टोयोटा, रेनो जस्ता ब्राण्डले आफ्नो बजार हिस्सा गुमाइरहेका छन् ।
नेपालमा पनि राम्रो गर्दै
नेपालमा प्यासेन्जर कारमा टाटा र महिन्द्रा दुबैको अवस्था ठिकठाक छ । विशेषगरी यात्रु बोक्न प्रयोग हुने महिन्द्रा स्कर्पियो पहाडी क्षेत्रको लागि उपयुक्त भएको कारण सदावहार राम्रो ब्यापार गरिरहेको छ । साथै, महिन्द्राको पीकअप सेग्मेन्ट नेपालमा सबैभन्दा बलियो छ । नयाँ मोडल एक्सयूभी ७०० र नयाँ जेनेरेशन थार अहिलेसम्म नेपाल आएको छैन भने एक्सयूभी ३०० पनि नेपालमा माग अनुसार उपलब्ध छैन ।
टाटाको नेक्सन इभी नेपालमा सबैभन्दा धेरै विक्री हुने मोडल भएको छ । टाटाको टिगोर, टियागो, अल्ट्रोज, एच फाइभ, सफारी र नेक्सन मोडल उपलब्ध रहेका छन् । पछिल्ला दिनमा यी सबै मोडल राम्रो संख्यामा विक्री भइरहेका छन् । समग्र विक्री संख्यामा यी दुबै ब्राण्ड राम्रो स्थानमा रहेका छन् ।


