सम्पन्नले किन्ने ईभीमा मात्र थोरै कर बढाइएको हो, आममान्छेले प्रयोग गर्नेमा छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैखाले विद्युतीय गाडीमा नभई सम्पन्न वर्गका व्यक्तिले किन्ने खालका विद्युतीय गाडीम मात्र कर बढाइएको बताएका छन् ।

शुक्रबार प्रतिनिधी सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।आम सर्वसाधरणले प्रयोग गर्ने नेपालमा उपलब्ध १३ प्रकारका विद्युतीय गाडीमा कर नबढाइएको उनले जानकारी दिए ।

‘अहिले नेपालमा १०० किलोवाटसम्म ब्याट्री क्षमताका १३ प्रकारका विद्युतीय गाडी उपलब्ध छन् । ती कुनैमा कर बढाइएको छैन,’ उनले भने, ‘ १०० किलोवाटभन्दा माथिका गाडीमा थोरै कर बढाइएको हो । सरकारले अब विद्युतीय गाडी मात्र किन्ने भनेको छ । केही सम्पन्न वर्ग र सरकारले किन्ने विद्युतीय गाडीको कर बढाइएको हो । उदाहरणका लागि अहिले ६० लाख पर्ने गाडीको मूल्य ६८ लाख पर्ने भएको हो ।’

महँगा गाडी किन्दा धेरै रकम बाहिरिने भएकाले त्यसको परिपूर्तिक लागि थोरै कर बढाइएको उनले स्पष्ट पारे । अहिले पनि पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको मूल्य ५० प्रतिशत सस्तो रहेको उनले बताए ।

केही व्यवासायिको स्वार्थमा विद्युतीय गाडीको कर बढाइएको भन्ने आरोप निराधार रहेको उनले बताए । ‘विद्युतीय गाडीको कर बढाउँदा केही स्वार्थ, नियत लुकेको छ कि भनेर शंका गरिन्छ । त्यसोभन्दा दुःख लाग्छ । कुनै नियत छैन,’ उनले भने, ‘डलर संचिति, राजस्वलाई मध्येनजर गर्दै बढाइएको हो ।’


Back_to_top