काठमाडौं । भारतीय अटोमोवाइल ब्राण्ड टाटा र महिन्द्राको तिब्र गतिमा बढ्दै गएको बजार हिस्सा र प्रतिस्पर्धा नेपाली बजारमा पनि अनुभव गर्न पाइने भएको छ ।
विशेषत पछिल्ला वर्षमा आकर्षक डिजाइन र अत्याधुनिक प्रविधि जडान भएका एसयूभी उत्पादन गर्दै आएका दुबै ब्राण्डले ग्लोबल एनक्यापमा समेत उत्कृष्ट प्रदर्शन गर्दै ‘फाइभ स्टार सेफ्टी रेटिङ’ भएका नयाँ नयाँ मोडल बजारमा ल्याइरहेका छन् ।
ठूला एसयूभीको बजारमा जापनीज र कोरियन ब्राण्डको दबदवा रहेको आन्तरिक बजारमा अब टाटा र महिन्द्राले कब्जा जमाउँदै लगेका छन् ।
टाटा मोटर्सले आफ्नो पूरानो एसयूभी मोडल सफारीको नामलाई निरन्तरता दिदै नयाँ लुक्स र डिजाइनमा ल्याएको सात सिट क्षमताको फुल साइज एसयूभी अहिले राम्रो संख्यामा विक्री हुँदै आएको छ ।
यही सेग्मेन्टमा महिन्द्राले पनि नयाँ एसयूभी बजारमा ल्याएको छ । टाटा सफारीसँग सिधा प्रतिस्पर्धा हुनेगरी एक्सयूभी ७०० भारतमा विक्री गरिरहेको छ । यो गाडी अबको केही समयपछि नेपाली बजारमा पनि आउँदैछ ।
भारतीय बजारमा सफारीभन्दा निकै धेरै माग रहेको एक्सयूभी ७०० नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा टाटा सफारीसँग हुनेछ । यस्तोमा यी दुई फुल साइज एसयूभीमा रहेका भिन्नतालाई यहाँ केलाउने प्रयास गरिएको छ ।
बाहिरी आवरण
फुलसाइज एसयूभी भएको कारण यी दुबै एसयूभीको साइज ४.६ मिटरभन्दा लामो साइजमा उपलब्ध रहेको छ । महिन्द्राको एक्सयूभी ७०० को लम्बाई ४६९५ एमएम रहेको छ भने टाटा सफारीको ४६६१ एमएम रहेको छ । एक्सयूभी र सफारीको चौडाई क्रमशः १८९० र १८९४ तथा उचाई १७५५ र १७८६ रहेको छ । ह्वीलवेस महिन्द्राको २७५० र टाटाको २७४१ एमएम रहेकोले साइजमा कडा प्रतिस्पर्धा देखिएको छ ।
दुबै एसयूभी अत्याधुनिक ‘फिचर लोडेड’ रहेको छ । टाटा सफारीमा ह्वाइट कलरको प्रोजेक्टर हेडल्याम्प रहेको छ भने, हाइबीममा पहेँलो कलरको हेजोजीन लाइट पाउन सकिन्छ ।
महिन्द्रा एक्सयूभी ७०० मा भने दुबै हेडल्याम्प फुल ह्वाइट रहेको छ । त्यही कारण सफारीको भन्दा एक्सयूभी ७०० को हेडलाइटले ज्यादा उज्यालो दिन्छ । एक्सयूभी ७०० को हेडलाइटमा थप अर्को अटो बुस्टर ल्याम्प समेत पाउन सकिन्छ ।
बुस्टर ल्याम्प गाडीको स्पीड ८० किलोमिटर प्रतिघण्टा माथि गएपछि आफैँ अन हुन्छ । दुबै एसयूभीमा १८ इन्चको अलोय ह्वील छ । ग्राउन्ड क्लियरेन्सको कुरा गर्दा एक्सयूभी ७०० मा २०० एमएम र सफारीमा २०५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
एक्सयूभी ७०० को तुलनामा टाटा सफारी अलोय ह्वील ट्रेन्डी देखिन्छ । एक्सयूभी ७०० मा हाइडएवल डोर ह्याण्डल रहेको छ भने सफारीमा परम्परागत डोर ह्याण्डल पाउन सकिन्छ । टाटा सफारी ल्याण्डरोभरको ‘डि८ प्लेटफर्म’मा बनाएको हो । ल्याण्डरोभर स्पोर्टस प्लेटफर्म निर्माण भएकै कारण सफारी एकदमै मजबुद मान्न सकिन्छ ।

त्यस्तै, महिन्द्राको एक्सयूभी ७०० पनि अत्याधुनिक टेक्नलोजीमा बनेको छ । एक्सयूभीले ग्लोबल एनक्याप रेटिङमा ५ स्टार पाइसकेकोले पनि यसको मजबुद बनोटमा कुने शंका गर्नु पर्दैन । एक्सयूभी ७०० मा सातैवटा सिट प्रयोग गर्दा २२० लिटरको बुटस्पेस रहेको छ । साथै, थर्ड रो सिटलाई फोल्ड गर्दा ९०० लिटरको बुटस्पेश पाउन सकिन्छ ।
टाटा सफारीमा ७३ लिटरको बुटस्पेस रहेको छ भने थर्डरो सिट फोल्ड गर्दा ९१० लिटर रहेको छ । एक्सयूभी ७०० मा ६० लिटरको तथा टाटा सफारीमा ५० लिटरको फ्यूल ट्याङ्क पाउन सकिन्छ । दुबै एसयूभी चारै चक्कामा डिस ब्रेक रहेको छ ।
इन्टेरियर फिचर
दुबै एसयूभीको इन्टेरियर प्रिमियम खालको छ । टाटा सफारीमा प्यानारोमीक सनरुफ रहेको छ भने, एक्सयूभी ७०० मा सेग्मेन्टमै सबभन्दा ठूलो साइजको स्काई रुफ पाउन सकिन्छ ।
दुबै एसयूभीको ड्यासबोर्ड पनि प्रिमियम देखिएको छ । ड्यासबोर्डमा सफ्टटच मेटेरियलहरु प्रयोग भएका छन् । यी दुई एसयूभीको ड्यासबोर्डमा मूख्य फरक भनेको स्कृनको साइज हो । एक्सयूभी ७०० को इन्फोटेन्मेन्ट सिस्टम ठूलो साइजको इन्ट्रुमेन्ट क्लस्टरसम्म जोडिएको अत्याधुनिक डिजाइनको छ ।
एक्सयूभी ७०० मा पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ भने टाटा सफारीमा सेमी डिजिटल क्लष्टर पाउन सकिन्छ । एक्सयूभी ७०० को टप भेरियन्टमा ३६० डिग्री पार्किङ क्यामराका साथै व्लाइन्ड भ्यू मोनिटर जस्ता फिचर रहेका छन् । टाटा सफारीमा भने रियर पार्किङ क्यामरा मात्रै पाउन सकिन्छ ।

टाटा सफारीको र एक्सयूभी ७०० को ड्राइभर सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने किसिमको छ । एक्सयूभी ७०० को सिटमा त मेमोरी पनि रहेको छ । एक्सयूभी ७०० मा सातवटा एयरव्याग, एडाप्टीभ क्रूज कन्ट्रोल सहितको अटोनोमस ड्राइभिङ सिस्टम पाउन सकिन्छ ।
टाटा सफारीमा एयर प्यूरीफायरका साथै फ्रन्ट र रियरमा भेन्टीलेटेड सिटहरु पाउन सकिन्छ । सफारीमा टेरेन रेस्पोन्स सिस्टम, मल्टीपल ड्राइभ मोडका साथै इलेक्ट्रीक पार्किङ ब्रेक समेत रहेको छ । दूबै एसयूभीको रियर तथा थर्ड रोमा पनि एसी भेन्ट छ, टाटा सफारीको सेकेन्ड रोको पिल्लरमा समेत एसी भेन्ट रहेको छ ।
इन्जिन र पावर
एक्सयूभी ७०० मा पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा आउने छ । टाटा सफारी डिजेल इन्जिनमा मात्र उत्पादन हुन्छ । एक्सयूभी ७०० मा रहेको २.० लिटर क्षमताको पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क जेनरेट गर्छ । त्यस्तै, यसमा रहेको २.२ लिटरको डिजेल इन्जिनले १५५ पीएस पावर र ३६० एनएम टर्क जेनेरेट गर्छ । दुवै इन्जिनमा ६ स्पीडको अटोमेटीक र म्यानुअल गियरबक्स रहेको छ ।
सफारीमा २.० लिटरको डिजेल इन्जिन रहेको छ । उक्त इन्जिनले १६८ पीएस पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा सफारीमा पनि ६ स्पीड म्यानुअल र अटोमेटिक दुबै गियरबक्स अप्सनमा उपलब्ध रहेको छ ।

