काठमाडौं । नेपालका लागि चेरी मोटर्सको आधिकारकि विक्रेता एसपीजी अटोमोबाइलले नयाँ एसयूभी भित्र्याएको छ । कम्पनीले निकै नै आकर्षक र अत्याधुनिक फिचर प्याक चेरीको प्रिमियम एसयूभीहरू टिगो ७ प्रो र टिगो ८ प्रो नेपाली बजारमा ल्याएको हो ।
एसपीजीले आज एक कार्यक्रमका बीच काठमाडौंमा नयाँ एसयूभीहरू सार्वजनिक गर्दैछ । नयाँ एसयूभीको इन्टेरियर र ड्यासबोर्ड एकदमै प्रिमियम देखिएको छ । यसको सिटहरूमा लेदर कभरको प्रयोग भएको छ भने ठूलो साइजको सनरुफले यी एसयूभीलाई स्पेसियस देखाएको छ ।
यसमा १२.३ इन्चको टचस्क्रीन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले, ९ इन्चको इन्टुमेन्ट डिस्प्ले र ८ इन्चको टचस्क्रीन एसी कन्ट्रोल डिस्प्ले सहित ड्यासबोर्डमा तीनवटा स्क्रीन रहेको छ । ड्राइभ बाइ वायर सिस्टम रहेको यो एसयूभीको पार्किङ ब्रेक पनि इलेक्ट्रिक रहेको छ ।
मल्टी फङ्सन स्टेरिङ ह्वील, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, डिउलजोन क्लाइमेट कन्ट्रोल, सोनीको ८ वटा स्पीकर, वायरलेस चार्जीङ आदि फिचर रहेको छ । सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईबीए, हिल असिस्ट कन्ट्रोल साथै डाइनामिक गाइडलाइन सहितको ३६० डिग्री क्यामरा रहेको छ ।

डट म्याट्रिक्स ग्यालेक्सी ग्रिल रहेको नयाँ एसयूभीको फ्रन्टमा फुल एलईडी हेडल्याम्प, डाइनामिक टर्न इन्डीकेटर, एलईडी डीआरएल रहेको छ । चेरीको टिगाे ७ प्रो पाँच सिटे र ८ प्रो ७ सिटे एसयूभी हो । टिगो ७ प्रोको लम्बाइ ४५०० एमएम रहेको छ भने टिगो ८ प्रोको लम्बाइ ४७२० एमएम रहेको छ । टिगो ७ प्रोमा १.५ लिटरको टीजीडीआई टर्बो चाज्र्ड ४ सिलिण्डरको इन्जिन रहेको छ भने टिगो ८ प्रोमा १.६ लिटरको इन्जिन रहेको छ । यी कारमा ९ स्पीडको अटाेमटिक सीभीटी गियर बक्स रहेको छ ।

नेपाली बजारमा टिगो ७ प्रोको प्रतिस्पर्धा हुन्डाइको टुसान, जीप कम्पास, टाटा एचफाइफ, प्रोटोन एक्स ७० तथा हाभलको जोलाइनसँग हुनेछ । त्यस्तै, टिगो ८ प्रोको प्रतिस्पर्धा भने आउँदै गरेको जीप मेरिडियन, महिन्द्राको एक्सयूभी ७०० तथा टाटाको सफारीसँग हुने सम्भावना हरेको छ । आज लन्च हुने दुवै एसयूभीको मूल्य आधिकारिक रूपमा सार्वजनिक नभएता पनि चेरी ७ प्रोको ७५ देखि ८५ लाख र टिगो ८ प्रोको ८५ लेखि ९५ लाखको हाराहारीमा हुने अनुमान गरिएको छ ।

