काठमाडौं । विगतको दुई संस्करण आयोजना हुन नसकेको ‘नाडा अटो शो’ आगामी भदौ ७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । नाडा अटो शोमा विगतदेखि नै विभिन्न दुई पाङ्ग्रे र चार पाङ्ग्रे ब्राण्डले नयाँ नयाँ मोडल बजारमा ल्याउने गरेका छन् ।
दशैंभन्दा ठिक एक महिना अघि गर्न लागिएको अटो शो २०२२ लाई लक्षित गरेर नेपाली बजारमा नयाँ नयाँ मोटरसाइकल तथा स्कुटर भित्र्याउने तयारीमा कम्पनीहरु रहेको छन् ।
अटो शोलाई लक्षित गरेर यामाहा, सुजुकी, हिरो, बजाजजस्ता कम्पनीले नयाँ मोडलका मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने तयारी गरेका छन् । अटो शो २०२२ को लागि नाडाले स्टल बुकिङसमेत खुल्ला गरिसकेको अवस्थामा अटो शोको तयारीमा सबै कम्पनीहरु जुटिसकेका छन् । यस्तोमा अटो शो लक्षित सम्भावित मोटरसाइकल तथा स्कुटरहरुको बारेमा हामीले चर्चा गरेका छौं ।
यामाहा एरोक्स
यामाहा एरोक्स भारतीय बजारमा सार्वजनिक भएको १५५ सीसीको पावरफुल स्कुटर रहेको छ । यसमा आर १५ मोटरसाइकलमा भएको इन्जिन प्रयोग गरिएको छ ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीका सीइओ राजु क्षेत्रीका अनुसार यो प्रिमियम सेग्मेन्टको स्कुटर अटो शोमा सार्वजनिक हुनेछ ।
यामाहा एरोक्समा १५५ सीसी लिक्विड कुल्ड ४ स्टोक इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बीएच पावर र १४.४ एनएम टर्क उत्पादन गर्छ । यसमा सिभिटी अटोमेटिक गियर, १४ इन्चको अलोय ह्वील, डिस्क ब्रेकजस्ता विशेषता रहेका छन् ।
सुजुकी एभेनीस
सुजुकीको बहुप्रतिक्षित स्कुटर एभेनीस १२५ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । सम्भवत यो स्कुटर अटो शो अगाडि नै बजारमा आउने छ । टीभीएस एनटर्क १२५ को प्रतिस्पर्धीको रुपमा हेरिएको एभेनीस १२५ मा १२४.३ सीसी इन्जिन रहेको छ । यो इन्जिनले ८.७ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा ब्लुटूथ केनेक्टिभिटी, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प तथा एलइडी डीआरएल पाउन सकिन्छ ।
हिरो स्प्लेन्डर एक्सटेक
हिरो मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले आक्रामक रुपमा नयाँ उत्पादन नेपाल ल्याइरहेको छ । कम्पनीले केही समय अगाडि मात्रै तीन नयाँ मोडल सार्वजनिक गरेको छ । भारतीय बजारमा हालै मात्र सार्वजनिक भएको स्प्लेन्डर एक्सटेक अटो शोमा सार्वजनिक हुने अनुमान गरिएको छ । हिरो स्प्लेन्डर नेपाली बजारमा लोकप्रिय मोटरसाइकल हो ।

हिरो स्प्लेन्डर प्लस एक्सटेकमा ९७ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ८.२ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स जडान गरिएको छ ।
बजाज २५०
बजालले भारतीय बजारमा सार्वजनिक भएको पल्सर २५० सिरिज लोकप्रिय भइरहेको छ । २५० सिरिज सार्वजनिक भएको छोटो समयमा नै १० हजार यूनिट विक्री भइसकेको छ ।

बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले आगामी अटो शोमा यो मोटरसाइकल प्रदर्शनी गर्ने अनुमान गरिएको छ । नेपालमा पल्सर एनएस २०० र पल्सर २२० एफ लोकप्रिय मोटरसाइकल रहेको छ ।
पल्सर सिरिजकै सबैभन्दा ठूलो २४९ सीसी क्षमताको इन्जिन भएको यो मोटरसाइकलले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्छ ।

