काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले निकै ढिलोगरी विद्युतीय कार उत्पादनमा लाग्ने घोषणा गरेको हो । कम्पनीले अन्य ब्राण्ड आक्रमक योजना बनाएर उत्पादनमा लागेपछि मात्रै टोयोटाले ईभी प्रति आफ्नो धारणा र योजना सार्वजनिक गरेको थियो ।
टोयोटाले गतवर्ष सार्वजनिक गरेको १५ कन्सेप्ट कार मध्ये ‘टोयोटा कम्प्याक्ट क्रुजर ईभी’ अहिले सर्वाधिक चर्चामा रहेको छ । यसले सन् २०२२ कार डिजाइन अवार्ड जित्न सफल भएसँगै यसको चर्चा बढेको हो ।
इटालीको मिलानमा आयोजना भएको कार्यक्रममा कम्प्याक्ट क्रुजरले अउडी, पोर्स्चे, भोल्भो, पोलेस्टर र लेक्सस जस्ता ब्राण्डले तयार गरेको कन्सेप्टलाई पछाडि पार्दै अवार्ड जित्न सफल भएको हो ।
टोयोटाले अफरोडलाई ध्यानमा राखेर तयार गरेको रेट्रो स्टाइल यो कन्सेप्ट सार्वजनिक भएदेखि नै धेरैले चर्चा गरेको पाइन्थ्यो । टोयोटाले यसलाई आफ्नो फ्रान्समा रहेको डिजाइन सेन्टरमा तयार गरेको हो ।
टोयोटा ल्याण्ड क्रुजर मोडलबाट प्रभावित भएर तयार गरिएको यो कन्सेप्टमा ल्याण्ड क्रुजर जे८० बाट प्रेरित फेसिका देख्न सकिन्छ । साथै, एलइडी हेडलाइट, स्क्वायर अफ ह्वील आर्क, निकै बल्की डिजाइन बडी, एलइडी टेललाइट दिइएको थियो ।
कम्पनीले यसको उत्पादन मोडल कहिले बजारमा ल्याउँछ भन्ने विषयमा जानकारी दिएको छैन । साथै, यसमा दिइने फिचर, मोटर, ब्याट्री लगायतका विषय थाहापाउन पनि केही समय अझै कुर्नु पर्ने हुन्छ ।

