घाँडो बन्दै साना इलेक्ट्रीक कार, पैसा र वातावरण दुबै बर्बाद

काठमाडौं । विद्युतीय कारको चर्चा अहिले असाध्यै धेरै हुने गरेको छ । विद्युतीय कारको कुनै पनि प्रोडक्टको विषयमा कुरा उठाउने हो भने आयातकर्तादेखि चढ्ने मानिसले शोसल मिडिया मार्फत आक्रमण गर्छन् ।

विद्युतीय कार प्रति निकै अराजक टिप्पणी गर्ने प्रयोगकर्तादेखि जस्तो पायो उस्तै ब्राण्ड ल्याउने आयातकर्तासम्म र नेपाल आएका बस्तुको गुणस्तर मापन गर्ने यातायात ब्यवस्था विभागसम्म नेपाललाई कमसल गाडीको डम्पिङ साइड निर्माण गर्न सकिन्छ भनेर लागि परेका छन् ।

यसरी साना गाडी ल्याउने, विक्री गर्ने अनि तत्कालै ती गाडीको आयातबन्द हुने अवस्था बजारमा सृजना भएको छ । विगत ३ वर्षमा नेपाल आएका र ग्राहकलाई केही यूनिट विक्री गरेका डेरीको इभी ७ र इएम७, दिगोको इ८, दिगोले नै ल्याएको दाय कार, ईको भिजिनरीले ल्याएको सिटी स्पीरिट, इभी नेपालले ल्याएको जिएक्स ८ जस्ता गाडीले ग्राहकको आवश्यकता पुराभन्दा आफ्नो आम्दानी दरिलो बनाए । यसले राम्रा उत्पादन ल्याउने ब्राण्डलाई समेत चुनौति थप्ने देखिन्छ ।

माथि उल्लेख गरिएका मध्ये दिगो बाहेक अन्य कम्पनीसँग आधिकारीक सर्भिस सेन्टर छैन भने १० यूनिटभन्दा माथि गाडी कुनै पनि ब्राण्डले विक्री गर्न सकेका छैनन् । सस्तो ईभीको चक्करमा यी ब्राण्डले ग्राहक र राज्य दुबैलाई ठगिरहेका छन् ।

ठूला भनिने ब्राण्डको अवस्था पनि त्यस्तै बनाइएको छ । अउडी, ज्यागुअर, टेस्ला जस्ता ब्राण्डले नेपालमा गाडी ल्याएर केही यूनिट विक्री गरेका छन् । त्यसपछि ती गाडीलाई प्रदान गरिने सेवा सून्य छ । यदि भोलिका दिनमा थप गाडी ल्याएर विक्री गर्ने हो भने टेस्लाले सर्भिस विस्तार गर्ने देखिन्छ, अन्य ब्राण्डको कुनै अत्तोपत्तो छैन ।

यसरी बजारमा विक्री भएका साना वा ठूला गाडी किन्ने धेरै ग्राहकले आफु ठगिएको अनुभव गर्न थालिसकेका छन् ।

पैसा र वातावरण दुबै वर्वाद

यसरी अब्यवस्थित तरिकाले आएका साना ईभीले हाम्रो पैसा त गएको छ नै त्यसको प्रभाव वातावरणमा पनि पर्नेछ । साना ईभी आयातकर्ताले सर्भिस सुविधा उपलब्ध नगराउने भएको कारण विग्रिएपछि ग्राहकले धेरै दुःख पाउने छन् ।

यी साना गाडी सुरक्षाको हिसावले पनि निकै कमजोर रहेका छन् । यी गाडीमा प्रयोग भएका ब्याट्री, मोटर, ब्याट्री मेनेजमेन्नट सिस्टम लगायतका विषयमा कुनै परिक्षण भएका डकुमेन्ट भेटिदैन । साथै, यसमा प्रयोग भएका ब्याट्री रिप्लेस गर्नु पर्ने अवस्था आउने हो भने पुराना ब्याट्री ब्यवस्थापन कसरी हुन्छ भन्ने विषय निकै पेचिलो बन्दैछ । यसले गर्ने हाम्रो वातावरण प्रदुषण पेट्रोलियम पदार्थको तुलनामा भयानक रहने छ ।

अहिले चल्तीका ब्राण्डले रिप्लेसमा आउने ब्याट्री आफैँ लिन्छन् भने त्यसको ब्यवस्थापन पनि उनिहरुको आफ्नै जिम्मेवारी हुन्छ । किनभने उनिहरु आफैँ ब्याट्री फेर्ने काम गर्छन् । त्यसैले लोकल ब्राण्डका साना र आधिकारीक विक्रेता नभएका ठूला ब्राण्डले ल्याएर विक्री गरेको ईभी किन्नु ग्राहकलाई निकै ठूलो घाटाको ‘डिल’ हुने देखिन्छ ।


Back_to_top