काठमाडौं । अहिले बजारमा उपलब्ध कारमा रहेको ब्याट्री ८ वर्षपछि के हुन्छ भन्ने कौतुहलता प्रयोगकर्तादेखि विक्रेतासम्ममा रहेको पाइन्छ । तर, चिनियाँ कम्पनी ग्वान्जाओ अटोमोवाइल ग्रुप (जीएसी)ले १५ लाख किलोमिटर लाइफ भएको ब्याट्री सार्वजनिक गरेको हो ।
कम्पनीले गत मंगलबार सार्वजनिक गरेको ‘नेक्स्ट जेनेरेशन सुपर इनर्जी लिथियम आयोन ब्याट्री’ले अटोमोबाइल क्षेत्रमा नयाँ बेन्चमार्क कायम गर्ने अनुमान सुरु भएको छ ।
माइक्रोक्रिस्टल लाइन प्रविधिमा आधारित यो ब्याट्री कम्पनीले आगामी वर्षदेखि बजारमा पठाउने छ । कम्पनीले यसको प्रयोग पहिलो पटक आफ्नै ‘जीएसी आयोन’ मोडलमा गर्ने जनाएको छ ।
अहिले मास प्रोडक्सन हुँदै आएको लिथियम आयोन फस्फेट ब्याट्री सेलको तुलनामा सुपर इनर्जी लिथियम आयोन ब्याट्री सेलको मास इनर्जी डेन्सीटी १३.५ प्रतिशतले बढ्ने जनाइएको छ । साथै, भोलुम इनर्जी डेन्सीटी २० प्रतिशतले र माइनस २० डिग्रीको ‘लो टेम्प्रेचर’मा यसको क्यापासीटी १० प्रतिशतले बढ्ने दावी कम्पनीले गरेको छ ।
नयाँ सुपर इनर्जी ब्याट्रीको अर्को राम्रो पक्ष भनेको यसले ‘टुसी’सम्मको फास्ट चार्जिङ क्षमता राख्छ । यसले ४८० किलोवाट क्षमताको चार्जर सपोर्ट गर्छ । यसलाई ५ मिनेट चार्ज गर्दा २०० किलोमिटर गुडाउन सकिन्छ ।


