मेयरको गाडी बेचेर रोलर किन्दै ‘हर्क साम्पाङ’

काठमाडौं । धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङले मेयरले प्रयोग गर्दै आएको गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि खरिद गरेको गाडी बेचेर धरानका सडकमा रहेको खाल्डा खुल्टी टाल्नका लागि रोलर किन्न लागिएको उनले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन् ।

यसअघि धरानका मेयरका लागि प्रयोग गर्न भनेर महिन्द्रा स्कर्पियो किनिएको थियो । हर्क साम्पाङले उक्त स्कर्पियो प्रयोग गरेका छैनन् । उनी आफुसँग भएको बजाज पल्सर एनएस २०० चढ्दै आएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोमा बनेका खाल्डा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

स्वतन्त्रबाट ५ दलिय गठबन्धनका उमेद्वारलाई ५ हजार हाराहारी मतान्तरले पराजित गरेर मेयर बनेका साम्पाङ नागरिकसँगै विकास निर्माणको काममा खट्दै आएका छन् ।


Back_to_top