काठमाडौं । समग्र अटोमोवाइल ब्यवसायमा संकट देखिएको छ । चैत अन्तिमदेखि गाडी आयातको लागि प्रतीतपत्र (एलसी) खोल्न रोकिएपनि त्यसअघि एलसी खोलिएका गाडी पनि बजारमा विक्री हुन सकेका छैनन् ।
ठूला ब्राण्डले दैनिक ४/५ वटा गाडी पनि विक्री गर्न सक्ने अवस्था नरहेको ब्यवसायीहरु बताउँछन् । यहि हिसावले अझैपनि धेरै कम्पनीसँग असोजसम्म विक्री गर्न पुग्ने नयाँ गाडी रहेको बताइन्छ । यसको मुख्यकारण बैंकबाट गाडी किन्न कर्जा सुविधा नपाउनु हो ।
बैंकले कर्जा नदिदा नयाँ गाडी किन्न खाज्नेले गाडी पाएका छैनन् भने बैंकको ब्याज लगायतको रकम भुक्तानी गर्न असार मसान्तमा कठिन भएर धेरै पुराना गाडी रिकन्डिसनमा विक्री गर्न आएका थिए ।
अहिले उपत्यकामा रहेका अधिकांश रिकन्डिन हाउससँग गाडी टनाटन छन् । गाडीको सप्लाई निकै बढेसँगै मूल्यपनि गिरावट आएको छ ।

‘हामीले विगतमा ३२/३३ लाखमा खरिद विक्री गर्ने गाडी अहिले २८/२९ लाखमा पाइन्छ । आर्थिक संकटको कारण रिकन्डिसनमा पनि गाडीको सप्लाई बढेको छ’, अधिकांश ब्यवसायीको एउटै भनाई पाइन्छ ।
विशालनगरमा रहेको श्रेया अटोमोवाइलका संचालक सचिन कुईकेल भन्छन्, ‘बजारमा गाडी बेच्ने बढेको र किन्ने घटेको अवस्था छ । हामीलाई पनि अहिले कति स्टक राख्न सकिन्छ भन्ने तनाव नै छ । तर, वातावरण ठिक होला भनेर काम गर्ने हो । अहिले रिकन्डिसनमा गाडी किन्ने ग्राहकले ‘वेष्ट डिल’ पाउने अवस्था छ ।’
कम मूल्यका गाडीको संख्या पनि बढ्दै
अहिले रिकन्डिसन हाउसहरुमा ५ लाखदेखि १ करोड ५० लाखसम्मका गाडी सहजै पाइन्छ । विशेषत कोरियन, इन्डियन र जापानी ब्राण्डका गाडी ग्राहकले पनि धेरै खोज्ने र विक्रीमा पनि आउने भएको कारण बजारमा मारुती सुजुकी, हुन्डाई, किया, टोयाटा जस्ता ब्राण्डका गाडी धेरै उपलब्ध छन् ।

थोरै बजेटमा कारको आवश्यकता पुरा गर्ने मानिसले कम मूल्यका गाडी खोज्ने गरेको रिकन्डिसन ब्यवसायीहरु बताउँछन् । त्यसैगरी कम मूल्य तिर्ने तर, करोडौ पर्ने ठूला गाडी चढ्नेहरुले पनि रिकन्डिसनमा गाडी किन्दै आएको पाइन्छ ।
आर्थिक संकटको कारण अहिले गाडीको विक्री घटेको छ भने पुराना गाडी किन्न चाहने मानिसले मज्जाले रोजेर किन्न सक्ने अवस्था छ ।

