काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले २० हजार अमेरिकी डलरभन्दा सस्तो इलेक्ट्रीक गाडी बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट अटोमोटीभ्स न्यूज यूरोपले प्रकाशित गरेको छ । मिडिया रिपोर्टमा हुन्डाई यूरोपका प्रमुख एन्ड्रियास क्रिस्टोफ होफमेनलाई उद्धृत गर्दै नयाँ गाडी आउन लागेको दावी गरिएको हो ।
होफमेनले भनेका छन्, ‘हामी इलेक्ट्रीक मिनिकार ल्याउने तयारीमा छौं । जुन हुन्डाईको इन्ट्री लेभल ब्याट्रीबाट चल्ने कार हुनेछ ।’
अहिले हुन्डाईले विक्री गर्दै आएको सानो कार हुन्डाई कोना इलेक्ट्रीक हो । यसको अन्तर्राष्ट्रिय बजारमा ३५ हजार डलर हाराहारी मूल्य रहेको छ । नेपालमा कोनाको मूल्य ६० लाख रुपैयाँ रहेको छ ।
हुन्डाईले ल्याउने मिनिकारले अन्तर्राष्ट्रिय बजारमा फियात ५०० ई, होन्डा इ, फक्सवागन आईडी लाइफ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसलाई हुन्डाईले आयोनीक परिवार भित्रै राखेर ल्याउँछ वा कोना जस्तो छुट्टै नामबाट ल्याउँछ अहिले केही जानकारी प्राप्त भएको छैन ।


