काठमाडौं । टोयोटाको मिडसाइज सेडान यारिसको पाँचौ जेनेरेशन मोडल सन् २०२३ को सुरुवातबाटै विक्री सुरु हुने अनुमान लगाइएको छ । थाइल्याण्डको सडकमा परिक्षण सुरु भएको यारिस बजारमा आउन लगभग तयार देखिन्छ ।
कम्पनीले आगामी वर्ष लन्च गर्न लागेको यारिसको टिजर भिडियो समेत सार्वजनिक गरेको छ । सन् १९९९ बाट विश्व बजारमा विक्री सुरु भएको यारिसको दोस्रो जेनरेशन सन् २००५, तेस्रो जेनेरेशन सन् २०१३ र चौथो जेनेरेशन मोडल २०२० मा आएको थियो । अब सेडान सेग्मेन्टमा आउन लागेको यारिस पाँचौ जेनेरेशन हो ।
पाँचौं जेनरेशनको यारिस डाइहात्सुको नयाँ डीएनजीए प्लेटफर्ममा बन्ने छ । यसलाई कम मूल्यको गाडी बनाउन टोयोटाले प्रयोग गर्दै आएको छ । यो प्लेटफर्ममा टोयोटाले विकासोन्मुख बजारको लागि कार बनाउँदै आएको छ ।
सार्वजनिक भएको टिजरको आधारमा टोयोटा यारिसमा ठूलो साइजको रेडियटर ग्रिल, दुबै साइडमा स्लीक हेडल्याम्प तथा फगल्याम्प हाउजीङ सहितको स्पोर्टी फ्रन्ट बम्पर दिएको छ ।
मेसिन कट डिउल टोन अलोय ह्वील, प्रिमियम सिट, टोयोटा सेफ्टी सेन्स जस्ता फिचरको साथ आउने यारिसमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन रहने छ ।

