चल्तीका ब्राण्डले पाँच साना इलेक्ट्रीक एसयूभी ल्याउने

सांकेतिक तस्विर

काठमाडौं । भारतीय बजारमा बढ्दो इलेक्ट्रीक कारको मागलाई सम्बोधन गर्न महिन्द्रा, किया र हुन्डाईले नयाँ इलेक्ट्रीक मोडलको तयारी गरिरहेका छन् । विभिन्न मिडिया रिपोर्टको मुताविक महिन्द्राले बढ्दो इलेक्ट्रीक कारको मागलाई ध्यानमा राखेर अर्को महिना एक्सयूभी ४०० बजारमा ल्याउने तयारी गरिरहेको छ ।

टाटा नेक्सनको विक्री मासिक ३ हजार यूनिटमाथि पुगेसँगै सब फोर मिटर सेग्मेन्टमा रहेका एक्सयूभी ३०० को प्लेटफर्ममा महिन्द्राले एक्सयूभी ४०० ल्याउने भएको हो । आगामी सेप्टेम्बर महिनामा बजारमा आउने यो एसयूभी ३०० र ४०० किलोमिटर रेन्ज तथा १०० र ११० किलोवाट मोटर क्षमतामा आउने अनुमान गरिएको छ ।

त्यसको साथै, यही सेग्मेन्टमा प्रतिस्पर्धा गर्न करिब ३०० किलोमिटर रेन्ज र १०० किलोवाट क्षमताको मोटरमा हुन्डाईले भेन्यू र कियाले सोनेट एसयूभीलाई पनि इलेक्ट्रीकमा ल्याउन लागेका छन् । हुन्डाई मोटर्स ग्रुपले यसको तयारी लगभग पुरा गरिसकेको जनाइएको छ । सम्भवत यी दुई एसयूभी मध्ये हुन्डाई भेन्यू केही महिना अघि बजारमा आउने छ । सन् २०२३ को अन्त्यसम्ममा भेन्यू र त्यसपछि सोनेट इलेक्ट्रीक आउने अनुमान गर्न सकिन्छ ।

एक्सयूभी ४००

यी बाहेक पनि सिट्रोनले आफ्नो सीथ्री मोडलको इलेक्ट्रीक भर्सन आगामी वर्ष बजारमा ल्याउने जनाएको छ । त्यसैगरी जीपले पनि सब फोर मिटर सेग्मेन्टमा पहिलो इलेक्ट्रीक एसयूभी तयार गरेको छ । सिट्रोनले भारतमा बनाउने सीथ्री इलेक्ट्रीक पनि ३०० किमि माथिकै रेन्जमा उपलब्ध हुने बताइएको छ ।

अफरोड एसयूभी उत्पादनमा कहलिएको जीपले ल्याउने एसयूभी ४०० किलोमिटर हाराहारी रेन्ज दिनेगरी आउने छ । यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । यी आउँदै गरेका सबै मोडलले आगामी दिनमा टाटा नेक्सनसँग कडा प्रतिस्पर्धा गर्ने छन् ।

विद्युतीय कारको तिब्र विकास सुरु भएसँग एकपछि अर्को कम्पनीले नयाँ नयाँ मोडल घोषणा गरिरहेका छन् । धेरै कम्पनीले नयाँ डिजाइन र प्लेटफर्ममा आफ्नो इलेक्ट्रीक मोडल तयार गर्ने बताएका छन् । साथै, चल्तीका केही कम्बस्चन इन्जिन भएका मोडललाई पनि इलेक्ट्रीकमा ल्याउँदै छन् ।


Back_to_top