देखियो मारुती सुजुकीको ‘कुप्पे क्रसओभर’, जनवरीबाट बजारमा आउने

काठमाडौं । मरुती सुजुकीले बनाइरहेको पहिलो कुप्पे क्रसओभर कार परिक्षणको क्रममा पहिलो पटक देखिएको छ । कम्पनीले बजारमा ल्याउने तयारी गरेको ४ मिटरभन्दा छोटो क्रसओभर पहिलो कुप्पे डिजाइनको मोडल हो ।

सन् २०२२ को सुरुवातसँगै निकै आक्रमक तरिकाले नयाँ मोडल बजारमा ल्याइरहेको मारुती सुजुकीले नयाँ ब्रेजा, नयाँ ग्राण्ड भिटारा बजारमा ल्याएको छ । यही महिना नयाँ जेनेरेशन अल्टो बजारमा ल्याउने तयारीमा जुटेको कम्पनीले अर्को नयाँ मोडल जिम्नीको पनि भारतमा उत्पादनको तयारी गरिरहेको छ ।

भारतमा उत्पादन भएपछि सहजै नेपाल आउने नयाँ कुप्पे मोडल प्रिमियम ह्याचव्याक बलेनोमा आधारित रहने छ । हुन्डाईले यसअघि आई २० एक्टीभ नामबाट क्रसओभर विक्री गर्दै आएको थियो । तर, सन् २०२० बाट हुन्डाईले यसको उत्पादन रोकेको थियो । नेपालमा आई २० एक्टीभको विक्री निकै राम्रो थियो । यस्तोमा मारुतीको नयाँ क्रसओभर प्रति नेपालमा चासो बढ्नु स्वाभाविक हुन्छ ।

सन् २०२३ को जनवरीमा हुने अटो एक्स्पो २०२३ बाट यसको विक्री सुरु हुने अनुमान गरिएको छ । यसको कन्सेप्ट पनि कम्पनीले अटो एक्सपो २०२० मा प्रदर्शन गरेको थियो ।

मारुती सुजुकलिे कोड नेम वाइटीबी दिएर काम गरिरहेको नयाँ मोडलमा कम्पनीको बुष्टर जेट टर्बो पेट्रोल इन्जिन रहने अनुमान गर्न सकिन्छ । यद्यपि यसको आधिकारीक जानकारी भने बाहिर आएको छैन ।

आफ्नो नयाँ मोडल ग्राण्ड भिटाराबाट धेरै फिचर लिइने यो क्रसओभर फिचर लोडेड हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top