टाटाले किन्यो फोर्डको प्लान्ट, वार्षिक ३ लाख ईभी उत्पादन गर्ने

काठमाडौं । टाटा मोटर्सले आफ्नो प्यासेन्जर कार व्यवसाय विस्तारसँगै उत्पादन क्षमता बढाउनका लागि नयाँ प्लान्ट खरिद गरेको छ । कम्पनीले अमेरिकन कम्पनी फोर्डको गुजरातमा रहेको प्लान्ट खरिद गर्ने सम्झौँता गरेको हो ।

टाटाले फोर्डको गुजरातमा रहेको सानन्द प्लान्ट ९१ मिलियन डलर (साढे ७ अर्ब भारतीय रुपैयाँ) मा खरिद गर्ने भएको हो । यसका लागि दुई कम्पनी बीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार अब टाटाले प्लान्ट रहेको जग्गा, सम्पत्ती र सबै योग्य कर्मचारीहरूलाई समेत खरिद गरेको छ । अमेरिकी मोटर कम्पनी फोर्डले गत वर्ष भारतबाट बाहिरिने घोषणा गरेपछि प्लान्ट बन्द थियो । उक्त प्लान्टलाई टाटाले आफ्नो विद्युतीय सवारी उत्पादनको लागि प्रयोग गर्ने जनाएको छ ।

टाटाले अहिले उत्पादन गरिरहेकोे नेक्सन इभी, टिगोर इभी लगायतका मोडलको साथै, आगामी दिनमा निर्माण गरिने ईभीका मोडलहरु यही प्लान्टमा बनाउने जनाएको छ । साथै कम्पनीले यस प्लान्टमा ल्यान्डरोभरको समेत उत्पादन हुन सक्ने जनाएको छ ।

टाटाले आफ्नो इलेक्ट्रीक मोबिलिटी युनिटमार्फत प्लान्टमा नयाँ मेसिनरी र उपकरणमा लगानी गर्ने योजना बनाएको छ । नयाँ मेसिनरी जडान भएपछि प्रत्येक वर्ष ३ लाख युनिट कार यस प्लान्टमा उत्पादन हुनेछ ।


Back_to_top