काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले जनवरी २०२३ मा माइक्रो एसयूभी भारतीय बजारमा ल्याउने रिपोर्ट सार्वजनिक भएको छ । कोरियामा भने कम्पनीले सन् २०२१ मै माइक्रो एसयूभी बजारमा ल्याएको थियो ।
भारतीय बजारमा सेन्ट्रोको उत्पादन बन्द गरेर नयाँ माइक्रो एसयूभी उत्पादनमा कम्पनी केन्द्रित हुने यसअघि नै जानकारी दिइएको थियो । त्यही अनुसार आगामी जनवरीमा आयोजना हुने दिल्ली अटो एक्स्पो २०२३ मा नयाँ माइक्रो एसयूभी बजारमा ल्याउनेगरी कम्पनीले तयारी गरिरहेको हो ।
एसयूभी लाइनअपमा हुन्डाईले अहिले नेपाली बजारमा नै भेन्यू, क्रेटा, टुसान, शान्ता फे र प्यालिसेड विक्री गर्दै आएको छ । यस्तोमा नयाँ आउने माइक्रो एसयूभी इन्ट्री लेभल मोडल हुने पक्का छ । यसको मूल्य पनि लाइनअपमा सबैभन्दा कम हुनेछ ।
हुन्डाईले ३.६ मिटर सेग्मेन्टमा ल्याउने नयाँ माइक्रो एसयूभी सेग्मेन्ट फस्ट फिचरको साथ आउने आँकलन सुरु भएको छ । अहिले माइक्रो एसयूभी सेग्मेन्टमा टाटा पन्च विक्री हुँदै आएको छ ।
भारतमा बन्ने यो माइक्रो एसयूभीमा पनि १.२ लिटर क्षमताको इन्जिन रहने अनुमान गरिएको छ । हुन्डाईले भारतमा बनाउने ग्राण्ड आई १० नियोस, आई २०, भेन्यू, अउरा जस्ता मोडलमा यही इन्जिनको प्रयोग गरेको छ ।
नयाँ माइक्रो एसयूभी इलेक्ट्रीक भर्सनमा समेत उपलब्ध हुने अनुमान गरिएको छ । यसको विस्तृत विवरण कम्पनीले बाहिर नल्याएपनि सन् २०२४ मा यसको इलेक्ट्रीक भर्सन बजारमा आउने अपेक्षा गरिएको छ ।

