काठमाडौं । ग्रेटवाल मोटर्सको एसयूभी ब्राण्ड हावलले सन् २०३० बाट इन्टरनल कम्बस्चन इन्जिन भएका एसयूभी उत्पादन र विक्रीमा रोक लगाउने घोषणा गरेको छ । कम्पनीले अगस्ट २२ मा आयोजना गरेको हाभलको ‘न्यू इनर्जी स्ट्राटीजी कन्फ्रेन्स’बाट उक्त निर्णय गरेको हो ।
उक्त कन्फ्रेन्समा हावल ब्राण्डका जनरल मेनेजर ली स्याउरीले सन् २०२५ सम्ममा आफ्नो सम्पूर्ण विक्रीको ८० प्रतिशत हिस्सा ‘न्यू इनर्जी भेहिकल’को पुग्ने घोषणा समेत गरेका थिए । यसअघि नै चीनको अर्को ब्राण्ड बीवाइडीले यही वर्षको मार्चबाटै ग्यासोलीन भेहिकलको उत्पादन बन्द गरिसकेको छ ।
उक्त अवसरमा हावलले चाइनाको परम्परागत आर्किटेक्चर टेक्नीक ‘मर्टिस एण्ड टेनन जोयन्ट’मा आधारित नयाँ लोगोसमेत सार्वजनिक गरेको छ ।
हावलले ग्लोबल टेक्नोलोजी मोविलीटीमा परिवर्तन गर्नका लागि सन् २०२१ मै टेक्नोलोजी र आरएण्डीमा १० बिलियन युवान लगानी गरिसकेको छ । साथै, यो रकम सन् २०२५ सम्ममा १०० बिलियन युवान पुग्ने जनाएको छ ।
यसका साथै ग्रेटवाल मोटर्सले तीनवटा रणनीति बनाएर एकदमै छिटो तरिकाले ‘ग्रिनर फ्यूचर’मा काम गरिरहेको छ । जुन स्ट्राटिजी भित्र हाइब्रिड इलेक्ट्रीक भेहिकल, ब्याट्री इलेक्ट्रीक भेहिकल र फ्यूलसेल इलेक्ट्रीक भेहिकल तीनवटै प्रविधि रहनेछ ।
सोही इभेन्टमा कम्पनीले तेस्रो जेनेरेशनको हावल एचसीक्स डीएचटी हाइब्रिड इलेक्ट्रीक भेहिकल सार्वजनिक गरेको थियो । जसको शुरुवाती मूल्य करिब २२ हजार डलर रहेको छ । यो मोडलमा ५५ किलोमिटर र ११० किलोमिटर दुई थरिको इलेक्ट्रीक रेन्ज पाउन सकिने कम्पनीले जनाएको छ ।

