काठमाडौं । कुनै समय विद्युतीय ब्राण्डमा चीनको एकलौटी थियो । पछिल्ला दिनमा एकपछि अर्को गर्दै भारतीय इलेक्ट्रीक ब्राण्डका मोटरसाइकल र स्कुटर नेपाल आउन थालेका छन् । यही क्रममा ओडिसी ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाल आएको हो ।
उसोत ओडिसी ब्राण्ड यसअघि पनि नेपालमा थियो । अहिले आधिकारीक विक्रेता परिर्वतन गरेर नयाँ तरिकाले नेपाल आउन लागेको हो । नयाँ कम्पनीले असोज १ गतेदेखि विक्री सुरु गर्ने जनाएको छ । ओडिसी इलेक्ट्रीकको लागि नेपालको आधिकारीक विक्रेता ओएचएम इलेक्ट्रीक ट्रेडिङ नियुक्त भएको हो । उसले सुरुमा ४ मोडलका स्कुटर र मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ ।
भैरहवा वेस भएको यो कम्पनीले नेपालभर मूख्य सहरहरुमा ओडिसीका लागि डिलरसमेत माग गरेको छ । कम्पनीले नेपालमा नै पहिलो पटक हुन लागेको नाडा इलेक्ट्रीक एक्स्पो २०२२ मासमेत भाग लिने जनाएको छ ।
कम्पनीले पहिचो चरणमा इभोक्वीस मोटरसाइकल तथा तीन मोडलका स्कुटर सार्वजनिक गर्ने तयारी गरेको हो । अन्य तीन स्कुटरमा हक, रेसर र इ२ गो रहेको छ ।
इभोक्वीस इलेक्ट्रीक मोटरसाइकल
इभोक्वीस मोटरसाइकल पूर्णत आधुनिक फिचरले भरीपूर्ण रहेको छ । कम्पनीले यसमा एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।
यसको डिजिटल क्लष्टरमा ब्याट्रीको अवस्था, स्पीड, ट्रिप मिटर, ओडो मिटर, टर्न इन्डिकेटरको विषयमा जानकारी दिन्छ । मोटरसाइकलको दुबै ह्वील १७ इन्चको दिइएको छ । साथै, यसमा सियटको जुम एक्सएल टायर पाउन सकिन्छ ।
कम्पनीले यसमा ४.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा ३ किलोवाटको बोस्चले बनाएको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । सेन्ट्रल इन्स्ट्रीच्यूट अफ रोड ट्रान्सपोर्ट (सिआईआरटी)का अनुसार यसलाई एक पटकको फुल चार्जमा १५० किलोमिटर गुडाउन सकिन्छ । यसलाई सामान्य घरायसी विजुलीमा १५ वाटको चार्जरले फुलचार्ज गर्न ६ घन्टा लाग्ने छ । चार्जिङ पोर्ट भने पछाडि चक्काको नजिकै दिइएको छ ।
इभोक्वीस मोटरसाइकलमा तीन प्रकारको राइडिङ मोड उपलब्ध छ । जसमा ड्राइभ, स्पोर्टस् र रिभर्स छन् ।

