काठमाडौं । नेपाली इलेक्ट्रीक दुई पाङ्ग्रे ब्राण्ड यात्रीले चार्जिङ नेटवर्क विस्तारलाई तिब्रता दिएको छ । उपत्यकाको ५ स्थानमा फास्ट चार्जर जडान गरिसकेको कम्पनीले आक्रमक नेटवर्क विस्तारको रणनीति बनाएको प्रस्ट बुझ्न सकिन्छ ।
कम्पनीले काठमाडौंको चाबहिल, बौद्ध र बालुवाटारमा फास्ट चार्जर राखेको छ भने ललितपुरको झम्सीखेलमा दुई चार्जर जडान गरेको छ । यसले उपत्यकामा चार्जर आवश्यक पर्ने ग्राहकलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
‘हामीले उपत्यकामा ५ स्थानमा चार्जर राखेका छौं । अब चितवन र पोखरालाई केन्द्रमा राखेर चार्जिङ नेटवर्क बनाउँदै छौं । हामी हाइवेमा पनि चार्जर जडान गर्नेगरी काम गर्दैछौं । दशैंअघि नै काठमाडौं-पोखरा र चितवन-काठमाडौं रुटको १२ स्थानमा फास्ट चार्जर लगाउने छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले बनाएको फास्ट चार्जरबाट यात्री पी वान मोटरसाइकल चार्ज गर्दा सून्यबाट ८० प्रतिशत चार्ज हुन ३० मिनेट समय लाग्ने कम्पनीले जनाएको छ ।
यात्रीले हरेक २० किलोमिटरको दुरीमा फास्ट चार्जर निर्माण गर्ने आफ्नो योजनामा प्रस्तुत गरेको थियो । त्यही अनुसार हाइवेमा चार्जर जडान गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले देशभर १२५ स्थानमा फास्ट चार्जर जडान गर्ने योजना बनाएको छ ।
पी वानको विक्री राम्रो
यात्रीले शोरुमबाट विक्री सुरु गरेको पी वान मोडल अहिले बाटोमा राम्रै संख्यामा देखिन्छ । कम्पनीले यसको विक्री तथ्यांक सार्वजनिक नगरेपनि सडकमा देखिन थालेको छ ।
यात्री पी वान लाई ग्राहकले आफ्नो चाहाना अनुसारको फिचर तथा कलरको प्रयोग गरेर किन्न सक्ने छन् । यात्री पी वान बेस भेरियन्टको मूल्य ५ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसमा ग्राहकले आफ्नो इच्छा अनुसारको डिस्क ब्रेक प्रयोग गराउन सक्नेछन् । यात्री पी वान मा १० कलर अप्सनमा रहेको छ । ग्राहकले बडी प्यान, सिट र सस्पेन्सनमा आफ्नो इच्छा अनुसारको कलर छनोट गर्ने सुविधा पाउने छन् ।
यात्री पी वान मोटरसाइकलले १९ पीएस पावर र ९० एनएम टर्क प्रदान गर्छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । चेन ड्राइभ सिस्टममा तयार भएको पी वान मोडलमा ठूलो स्पोर्केट प्रयोग गरिएको छ । स्टाइल बडी फ्रेममा तयार भएको यो एड्भेन्चर डिजाइन मोटरसाइकलमा १७ इन्चको टायर प्रयोग गरिएको छ ।