काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय कारको आयातले पेट्रोलियम पदार्थबाट चल्ने कारलाई जितेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा पेट्रोलबाट चल्ने कारको तुलनामा विद्युतीय कारको आयात धेरै भएको हो ।
सरकारले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवभिधर पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारी साधनको आयातमा प्रतिवन्ध लगाएको कारण विद्युतीय कारको आयातले जितेको हो ।
साउन महिनामा जम्मा ३४४ यूनिट साना जीप, कार, भ्यानको आयात भएकोमा विद्युतीय कारको संख्या २११ यूनिट छ ।
त्यसैगरी शब बहान र एम्बुलेन्सको संख्या १३ यूनिट छ भने बाँकी १२० यूनिट पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा चीनबाट ३८ यूनिट, भारतबाट १२५ यूनिट, कोरियाबाट ४४ यूनिट र अमेरिकाबाट ४ यूनिट विद्युतीय कार आयात भएको छ । चीनबाट आयात भएको गाडीमा सबैभन्दा ठूलो हिस्सा नेटा भी र वीवाइडीको छ । त्यसैगरी भारतबाट टाटा, कोरियाबाट हुन्डाई र अमेरिकाबाट टेस्लाका कार आयात भएका हुन् ।

