काठमाडौं । कोरियन कार निर्माता हुन्डाई र कियाले नेपाली बजारमा विक्री गर्दै आएको सब फोर मिटर एसयूभीको इन्ट्री भेरियन्टको मूल्यमा केवल ६ हजार रुपैयाँको फरक छ । हुन्डाईले भेन्यू इ भेरियन्टको मूल्य ३७ लाख ९६ हजार र कियाको एचटीई भेरियन्टको मूल्य ३७ लाख ९० हजार रुपैयाँ रहेको कायम गरेर विक्री गर्दै आएको छ ।
एउटै प्लेटफर्ममा उत्पादन भएका हुन्डाई भेन्यू र किया सोनेटको इन्ट्री भेरियन्टमा समान इन्जिन र अधिकांश फिचर उस्तै रहेका छन् । यी दुई गाडीको सबैभन्दा ठूलो फरक भनेको डिजाइन हो । अगाडि र पछाडिको डिजाइन दुबैमा निकै ठूलो फरक पाउन सकिन्छ भने समान लम्वाई भएपनि चौडाई र उचाईमा किया सोनेट केही ठूलो छ ।
हुन्डाईले भेन्यूलाई कन्जर्भेटीभ डिजाइनमा बनाएको छ । तर, पनि भेन्यूमा थुप्रै आकर्षण ल्याउने फिचर दिइएको छ । कियाले सोनेटलाई एग्रेसीभ लुक्स दिएको छ । रुफरेल, स्कीड प्लेट, बडी क्याडलिङ तथा समान १५ इन्चको ह्वील यी दुबै गाडीमा पाउन सकिन्छ ।
यहाँ हामीले यी दुबै कारको इन्ट्री भेरियन्टलाई तुलनात्मक विष्लेषण गर्ने जमर्को गरेका छौं ।
इन्जिन
दुबै गाडीमा एउटै १.२ लिटर क्षमताको इन्जिन उपलब्ध रहेको छ । ११९७ सीसी, फोर सिलिण्डर, ४ भल्भ डिओएचसी इन्जिनले अधिकतम ६००० आरपीएममा ८२ बीएच पावर र ४००० आरपीएममा ११४ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

फ्रन्ट ह्वील ड्राइभ सिस्टम रहेको दुबै गाडीमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । दुबै गाडी बीएस ६ इन्जिनमा उपलब्ध रहेको छ ।
साइज
दुबै गाडीको लम्बाई समान ३९९५ एमएम रहेको छ । चौडाईमा भेन्यूको तुलनमा सोनेट २० एमएमले ठूलो रहेको छ । भेन्यूको चौडाई १७७० एमएम रहेको छ भने सोनेटको १७९० एमएम रहेको छ ।
उचाईमा पनि सोनेट २० एमएम बढी अग्लो छ । यसको उचाई १६१० एमएम छ भने भेन्यूको १५९० एमएम रहेको छ । दुबैमा समान २५०० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
५ जनाले आरामदायी यात्रा गर्न सक्ने यी दुबै गाडीमा समान ४५ लिटर क्षमताको इन्धन ट्याङ्क पाउन सकिन्छ । बुट स्पेशमा किया सोनेट केही लिटरले अगाडि रहेको छ । सोनेटमा ३९२ लिटर र भेन्यूमा ३५० लिटरको बुट स्पेश पाउन सकिन्छ ।
सस्पेन्सन
दुबै गाडीमा एउटै सस्पेन्सन पाउन सकिन्छ । अगाडि म्याकफर्सन स्ट्रुटको साथ क्वील स्प्रीङ र पछाडि कप्पल्ड टोर्सन बीमको साथ क्वील स्प्रीङ पाउन सकिन्छ । दुबै गाडीको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।
पावर स्टेरिङ, समान ५.१ मिटर टर्निङ रेडिएस, स्टील रिम, स्टील ह्वील दुबैमा दिइएको छ ।
सुरक्षा फिचर
ग्लोवल एनक्याप क्रयास टेष्टमा दुबै गाडी अहिलेसम्म परिक्षण भएको छैन । तर, अष्ट्रियन एनक्यापमा भने भेन्यूले ४ स्टार रेटिङ पाएको थियो । तर, त्यो भारतीय स्पेक भने होइन ।

दुबै कारमा अगाडि एयरव्याग दिइएको छ । ८० किलोमिटरको स्पीडमा अर्लट बीप र १२० किलोमिटरको स्पीडमा निरन्तर बीप दिइएको छ । यसले चालकलाई सचेत गराउने छ ।
भेन्यूमा चाइल्ड सिट एङ्कर प्वइन्ट दिइएको छ भने सोनेटमा छैन । दुबैमा सिटवेल्ट वार्निङ पाउन सकिन्छ । एबीएस, इबीडी दुबै गाडीमा छ भने ब्रेक एसिस्ट भेन्यूमा पाउन सकिन्छ ।
इन्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ, स्पीड सेन्सीङ डोर लक, चाइल्ड सेफ्टी लक जस्ता फिचर दुबै गाडीमा उपलब्ध रहेको छ ।
आरमदायी फिचर
म्यानुयल एसी, हिटर, रियर पार्किङ सेन्सर, हेडलाइट र इग्नीसन अन रिमाइन्डर, स्टेरिङ एड्जस्टमेन्ट जस्ता फिचर दुबै कारमा छन् भने अगाडि आर्मरेष्ट किया सोनेटमा मात्रै उपलब्ध रहेको छ ।
दुबै गाडीको ड्राइभर र अगाडि प्यासेन्जर सिट ६ वे एड्जस्ट गर्न मिल्ने किसिमको छ । फेब्रिक सिट, प्यासेन्जर बेञ्च सिट, कालो कलरमा सिंगल टोन इन्टेरियर, कप होल्डर, अगाडि पावर विन्डो, जस्ता फिचर यसमा समावेस भएको छ ।
लाइट र इन्ट्रुमेन्ट क्लष्टर
भेन्यू र सोनेट दुबै गाडीमा हेलोजिन हेडल्याम्प र टेल ल्याम्प पाउन सकिन्छ । यी दुबै गाडीमा फरक डिजाइनको हेडल्याम्प र टेलल्याम्प हाउजिङ प्रयोग गरिएको छ । क्याविनमा भेन्यूको सेन्टरमा एउटा लाइट पाउन सकिन्छ भने सोनेटमा अगाडि र पछाडि फरक लाइट पाउन सकिन्छ ।
हुन्डाईले एनालग क्लष्टर दिएको छ भने सोनेटमा एनालग र डिजिटलको मिश्रण गरेको छ ।


