काठमाडौं । टाटा मोटर्स इन्डियाले आफ्ना चर्चित एसयूभी नेक्सन, ह्यारियर र सफारीको जेट एडिसन भारतमा सार्वजनिक गरेको छ । भारतीय अटो ब्राण्डले यी तीन वटै मोडलको टप भेरियन्टलाई जेट एडिसनको रुपमा ल्याएको हो ।
टाटाले जेट एडिसनमा ल्याएको सबैभन्दा सस्तो मोडल नेक्सन हो भने महंगो मोडल सफारी हो । नेक्सनको मूल्य १२ लाख १३ हजारदेखि सुरु भएको छ । भारतमा रेगुलर मोडलको तुलनामा जेट एडिसन ३० हजारदेखि ५० हजार भारतीय रुपैयाँसम्मले महंगो रहेको छ ।
टाटाले नेक्सनको जेट एडिसनमा ४ भेरियन्ट उपलब्ध गराएको छ । साथै, सफारीको पनि ४ भेरियन्ट नै उपलब्ध छ भने, ह्यारियरको दुई भेरियन्ट मात्रै जेट एडिसनमा पाउन सकिन्छ ।
विशेषगरी जेट एडिसनमा नयाँ कलर अप्सन ग्राहकले पाउने छन् । ब्रन्ज कलरको बडी र सिल्भर कलरको छत, कालो कलरको अलोय ह्वील, सिल्भर कलरको स्कीड प्लेट पाउन सकिन्छ । साथै, ड्यासबोर्डको कलर पनि फरक पाउन सकिन्छ ।
टाटाले जेट एडिसन सफारी र ह्यारियरमा सुरक्षा फिचर थप गरेको छ । कम्पनीले ड्राइभरको लागि सहयोगी फिचर पेनिक ब्रेक अलर्ट, आफ्टर इम्प्याक्ट ब्रेक, ड्राइभर ड्रनेस अलर्ट, चारवटै चक्कामा डिस्क ब्रेक, नयाँ हेडरेष्ट, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक जस्ता फिचर थप गरेको छ ।
कम्पनीले पहिलो पटक नेक्सनमा वायरलेस चार्जर दिएको छ ।
टाटाले यी तीन वटै मोडलमा कुनै पनि किसिमको मेकानिकल परिमार्जन भने गरेको छैन ।

