विद्युतीय कारमा देशभर आकर्षण, पूर्वाधारको चिन्ता छैन

काठमाडौं । विद्युतीय कारको आकर्षण काठमाडौं उपत्यकामा मात्रै नभएर दशैभर रहेको पाइन्छ । विशेषत ३०० किलोमिटर हाराहारी रेन्ज दिने विद्युतीय कार उपत्यका बाहिर राम्रै संख्यामा विक्री भएका छन् ।

उपत्यका बाहिरका सहरहरु पोखरा, भरतपुर, हेटौंडा, विरगंज, जनकपुर, इटहरी, विराटनगर, विर्तामोड, बुटवल, भैरहवा, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी जस्ता सहरमा विद्युतीय गाडीको प्रयोग निकै बढेको देखिन्छ ।

दुई वर्ष अघिसम्म हाइवेमा विद्युतीय गाडी गुडेको देख्नै मुस्किल हुन्थ्यो । अहिले हाइवेमा बाक्लो संख्यामा इलेक्ट्रीक कार गुडेको भेटिन्छ । विशेषत विद्युतीय कार चलाउन सहज, आरामदायी, ध्वनी रहित र सोचेन्दा धेरै पावरफुल हुने कारण एक पटक टेष्ट ड्राइभ गरेपछि उसले विद्युतीय गाडी किन्ने सम्भावना ७० प्रतिशतसम्मले बढ्ने सरोकारवालाको बुझाई छ ।

चितवनका सफल लामिछाने अहिले विद्युतीय कार चढ्छन् । पेशाले इन्जिनियर उनि काठमाडौं चितवन गर्दा विद्युतीय गाडीको प्रयोग गर्छन् । उनि भन्छन्, ‘विद्युतीय कार आफ्नो यात्रा गर्ने दुरी हेरेर किन्नु पर्छ । मेरो दैनिक यात्रा २० देखि ३० किलोमिटर हो । तर, कहिले चितवन घर, कहिले पोखरा वा कतै घुम्न निस्कदा पनि चार्जरको आवश्यकता महसुस हुँदैन । त्यसमा रहेको चार्जरले राती चार्जगर्दा पुगेको छ ।’

उकालोमा धेरै पावर खपत हुने हुँदा कसैले पनि अचानक पावर सकिएर दुःख नपाओस भन्न कम्पनीहरुले धार्के, कुरिनटार, खुर्कोट, बर्दिवास, पोखरा, ढल्केबगर, बुटवल, भैरहवा, विराटनगर, इटहरी, नेपालगञ्ज जस्ता क्षेत्रमा फास्ट चार्जरको साथै ७ किलोवाट क्षमताका चार्जर राखेका छन् । यसैको कारण अहिले धेरै मानिस कम रेन्जको गाडी पनि ढुक्कले लिएर हिड्न पाएका छन् ।

नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशन निर्माणलाई तिब्रता दिएको छ । सुरुमा विभिन्न भेगका ५० स्थान (बस पार्क वा सार्वजनिक क्षेत्र)मा चार्जर राख्न लागिएको हो । त्यसको साथै प्राधिकरण र नेपाल प्रहरीले पनि थप २५ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने समझदारी गरेका छन् ।

अहिले नेपालमा विक्री हुने विद्युतीय कारको करिब ६० प्रतिशत विक्री उपत्यकामा र बाँकी ४० प्रतिशत उपत्यका बाहिर विक्री हुँदै आएको विक्रेताहरुको भनाई छ ।

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार काठमाडौं उपत्यका र बाहिरका सहरमा लगभग उस्तै माग छ । ग्राहकको माग अनुसार विद्युतीय कारको उपलब्धता भने छैन ।

‘बजारमा माग छ, तरलता अभाव छ, चीनतर्फको नाका बन्द र कम्पनीहरुले माग अनुसार सप्लाई दिएका छैनन्’, प्रबन्ध निर्देशक श्रेष्ठले भनिन् ।

अब केही वर्षपछि बजार परिवर्तन

सन् २०२४ पछि हरेक ब्राण्डले ५/७ मोडल बजारमा ल्याउने तयारी गरिरहेका छन् । लिथियम आयोन ब्याट्रीमा नयाँ खोज, सोलिड स्टेट ब्याट्रीमा भएको खोज, ब्याट्री उत्पादनमा वृद्धि जस्ता कारण सन् २०२४ पछि ईभीको बजारमा ब्यापक वृद्धि हुने संकेतहरु देखापरेका छन् ।

अहिले चल्तीमा रहेका विश्वका ठूला कार निर्माता कम्पनीहरुले विद्युतीय कार उत्पादनमा थप लगानी घोषणा गरेर सन् २०३० सम्मको योजना पनि सार्वजनिक गरिसकेका छन् । यसले विद्युतीय कारको प्रयोग तिब्र गतिमा बढ्ने देखिन्छ ।


Back_to_top