एनटर्कको टप भेरियन्टमा धेरै परिर्वतन, मूल्य पनि ३ लाख ५ हजार

काठमाडौं । टीभीएसको नयाँ स्कुटर नेपाल आएको छ । टीभीएसको आधिकारीक विक्रेता कम्पनी जगदम्बा मोटर्सले एनटर्क १२५ को नयाँ एडिशन ‘रेस एक्सपी’ नेपाल ल्याएको हो ।

नयाँ भेरियन्ट आएसँगै एनटर्क १२५ अब ५ भेरियन्टमा उपलब्ध हुने भएको छ । एनटर्क १२५ ड्रम, एनटर्क १२५ डिस्क, एनटर्क १२५ रेश, एनटर्क १२५ सुपर स्क्वाड एडिशन र एनटर्क १२५ रेस एक्सपी भेरियन्ट बजारमा किन्न पाइन्छ ।

कम्पनीले एनटर्क १२५ रेस एडिशनलाई अपग्रेड गरेर ल्याएको एक्सपी भर्सनमा विभिन्न फिचर थप गर्नुका साथै केही परिर्वतन गरेको छ ।

मुख्य थपिएको फिचर भोइस असिस्ट

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले ३ लाख ५ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु गरेको एनटर्क एक्सपीमा भोइस-असिस्ट फिचर युक्त स्मार्ट कनेक्ट कनेक्टिभिटी फिचर दिइएको छ ।

यसमा रहेको भ्वाइस असिस्टको प्रयोग गरेर नेभिगेशन, राइड मोड चेन्ज, कन्सोलको ब्राइटनेस कन्ट्रोल जस्ता १५ प्रकारका कमान्ड प्रयोग गर्न सकिने छ ।

इन्जिन

टीभीएसले यसको इन्जिन पर्फमेन्समा समेत सुधार ल्याएको छ । कम्पनीले यसको पावर क्षमता वृद्धि गरेर ल्याएको हो ।

एक्सपी भेरियन्टमा पनि १२४.८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १०.२ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । १२५ सिसि सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर भएको कम्पनीको दावी छ । एनटर्क रेस एडिशनमा ९.२ बीएच पावर रहेको थियो ।

ग्राफिक्स

एनटर्क रेस एडिशनको तुलानामा कम्पनीले एक्सपी भेरियन्टमा नयाँ ग्राफिकको प्रयोग गरेको छ । यसको फ्रन्ट एजमा एक्सपीको ब्याजको प्रयोग गरिएको छ । त्यस्तै एक्सपीमा रेड र सिल्भर कलरको प्रयोग गरिएको छ । यो स्कुटर एकमात्र कलर भेरियन्टमा उपलब्ध रहेको छ ।


Back_to_top