फिस्करको आँखा भारतमा, नेपाली ब्यवसायीको आँखा फिस्करमा

काठमाडौं । अमेरिकी अटोमोवाइल कम्पनी फिस्करले सन् २०२३ बाट भारतमा आफ्नो इलेक्ट्रीक एसयूभी ‘ओशन’ विक्री सुरु गर्ने भएको छ । सुरुमा तयारी कार ल्याएर विक्री गर्ने योजना बनाएको फिस्करले सन् २०२५ बाट भारतमै उत्पादन गर्ने योजना बनाएको छ ।

धेरै जनसंख्या, बढ्दो भारतीय अर्थतन्त्र र विद्युतीय कारमा बढ्दो चासोलाई सम्बोधन गर्न फिस्करले भारतीय बजारमा आँखा लगाएको हो । भारतमा फिस्कर आउने भएसँगै नेपाली व्यवसायीहरुले पनि यो ब्राण्डमा आँखा लगाउन थालेका छन् ।

चाँडै भारतमा उत्पादन गर्ने योजना भएकै कारण नेपालीहरुको ध्यान यसले खिच्न सफल भएको हो । अहिले भारतमा विद्युतीय कारको हिस्सा १ प्रतिशत मात्रै रहेको कारण कम्पनीले तत्काल उत्पादन भन्दा तयारी गाडी ल्याएर विक्री गर्ने लक्ष्य लिएको जनाइएको छ ।

फिस्करका सीइओ हेनरीक फिस्करले रोयटर्सलाई दिएको अन्तर्वार्तामा भारतमा २०२५÷२६ सम्ममा विद्युतीय कारको विक्री बढ्ने प्रक्षेपण गरेका छन् । उनले यस बजारलाई प्राथमिकतामा राखेर आफु अगाडि बढ्ने र ‘फस्ट मुभर एड्भान्टेज’ पाउने बताए ।

‘भारत अन्ततः पूर्ण रूपमा विद्युतीय हुनेछ । तर, यो अमेरिका, युरोप वा चीनको गतिमा हुने छैन’, हेनरीकले भने ।

अहिले फिस्करले उत्पादन गर्दै आएको ओशन ईभीको मूल्य अमेरिकामा लगभग ३७ हजार ५ सय डलर छ ।

नेपाल सन्दर्भ

फिस्करको ओशन एसयूभी नेपालको लागि निकै महंगो पर्नेछ । यसमा ४०० किलोवाट पीक पावर क्षमता भएको मोटर जडान गरिएको छ । ठूलो मोटर भएको कारण यसमा धेरै कर लाग्ने छ । त्यसैले महंगो मूल्यकै कारण फिस्कर ओशन नेपाल आउने सम्भावना कम छ ।

तर, भारतीय बजार सुहाउँदो अन्य मोडल पनि फिस्करले ल्याउने हुँदा यो ब्राण्डमा नेपाली व्यवसायीहरुको आँखा परेको छ ।

भारतमा सम्भावना

भारत सरकारले सन् २०३० सम्ममा कुल कार विक्रीमा विद्युतीय कारको हिस्सा ३० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । यद्यपि, चार्जिङ पूर्वाधारको अभाव र उच्च ब्याट्री लागत ईभीको विक्री बढाउनमा प्रमुख बाधा बन्ने देखिन्छ ।

भारत सरकारले विद्युतीय सवारीसाधन र तिनका पार्टपुर्जाहरू स्वदेशमै उत्पादन गर्ने कम्पनीहरूलाई करोडौं डलरको प्रोत्साहन पनि प्रदान गरिरहेको छ ।

हालै मात्र विश्वको प्रमुख विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतमा आफ्नो कार आयात करमा छुट नपाएपछि ब्यापार सुरु गर्ने योजना स्थगित गरेको थियो । भारतमा आयातीत कारमा १०० प्रतिशत कर लाग्दै आएको छ ।


Back_to_top