यी हुन् नेपालमा किन्न पाइने ३ उत्कृष्ट इलेक्ट्रीक कार

काठमाडौं । नेपाली बजारमा अहिले उपलब्ध प्रिमियम इलेक्ट्रीक कारमा ३ मोडल पर्छन् । बजारमा उपलब्ध इलेक्ट्रीक कार मध्ये टेस्ला मोडल ३, हुन्डाई आयोनीक ५ र बीवाइडी एटो थ्री प्रिमियम सेग्मेन्टमा आउने मोडल हुन् ।

अमेरिकी कम्पनी टेस्लाको मोडल थ्री मूल्यको हिसावले सबैभन्दा महंगो छ । यसको स्टायडर्ड भेरियन्टको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ । यसमा २११ किलोवाट क्षमताको मोटर दिइएको छ । टेस्ला मोडल थ्रीमा राज्यले लिएको नयाँ कर नीति अनुसार ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तःशुल्क लाग्छ ।

कोरियन अटो जाइन्ट हुन्डाईको प्रिमियम क्रसओभर एसयूभी आयोनीक ५ विश्व बजारमा चर्चा पाउन सफल मोडल हो । फ्यूचरस्टीक डिजाइन, ८०० भोल्ट आर्किटेक्चरको कारण यसले विद्युतीय कार बजारमा नयाँ मानक स्थापित गरेको छ । सुरुको कर नीति अनुसार ८१ लाख रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको यो कारको बढेको मूल्य अनुसार ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लाग्छ । यसमा पीकपावर १२५ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ ।

चिनियाँ ब्राण्ड बीवाइडीले उत्पादन गरेको ग्लोवल मोडल एटो थ्री नेपाली बजारमा उपलब्ध भएको छ । साइमेक्स इंकले अघिल्लो हप्ता सार्वजनिक गरेको एटो थ्री अहिले नेपालमा सर्वाधिक चर्चामा रहेको मोडल हो । पीकपावर १५० किलोवाट रहेको यो क्रसओभर एसयूभी स्पोर्ट र म्यूजिक थिममा तयार भएको मोडल हो । कम्पनीले यसको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको हो ।

नेपालमा उपलब्ध यी तीन प्रिमियम इलेक्ट्रीक कारको सुरक्षा र लग्जरी फिचर लगभग उस्तैछ । सुरक्षाको लागि एडीएएस फिचर उपलब्ध तीनवटै मोडल लग्जरीको हिसावले पनि अब्बल मानिन्छ ।

तीन मोडल बीच समानता

यी तीनवटै कारको बीचमा रहेको मुख्य समानता भनेको प्लेटफर्म हो । यी तीनवटै मोडल डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको कार हो । विशेषत ईभीकै लागि बनेको प्लेटफर्मको कारण गाडीको भित्र प्रसस्त ठाउँ पाउन सकिन्छ ।

रेन्जमा कति फरक ?

यी तीनवटै मोडलको रेन्जमा पनि धेरै फरक छैन । यद्यपि, बीवाइडी एटो थ्रीलाई फुलचार्जमा ४२० किमि, आयोनीक ५ लाई ३७५ किलोमिटर र टेस्ला मोडल थ्रीलाई ३५० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

ब्याट्री साइजमा पनि बीवाइडी एटो थ्री सबैभन्दा अगाडि छ । एटो थ्रीमा ६० किलोवाट आवरको ब्याट्री छ भने आयोनीक ५ मा ५८ किलोवाट आवर र मोडल थ्रीमा ५० किलोवाट आवरको ब्याट्री दिइएको छ ।

निष्कर्ष

डिजाइनको हिसावले लोभलाग्दो देखिने आयोनीक ५ माथि पावरको हिसावले टेस्ला मोडल थ्री भारी छ । फराकिलो क्याविन र ह्वीलवेसको लागि एटो थ्री र आयोनीक ५ अब्बल देखिन्छन् ।

ब्याट्री टेक्नोलोजीमा निकै अब्बल मानिने बीवाइडीको ब्लेड ब्याट्री र मूल्यको कारण एटो थ्रीको धेरैको रोजाईमा पर्न सक्छ ।

समग्रमा यी तीनवटै गाडी आ–आफ्नो विशेषताले भरीपूर्ण छन् । यी गाडीले विद्युतीय प्रिमियम कार खोज्नेको आवश्यकता सहजै पुरा गर्न सक्छन् । त्यसैले नेपालमा प्रिमियम विद्युतीय कार सेग्मेन्टमा क्रान्तिकारी प्रडक्टको रुपमा यी मोडललाई चित्रण गर्न सकिन्छ ।


Back_to_top