काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले आफ्नो दोस्रो इलेक्ट्रीक कार बीजेड ३ सार्वजनिक गरेको छ । चिनियाँ बजारमा सार्वजनिक भएको बीजेड ३ मा बीवाइडीले उत्पादन गरेको ब्लेड ब्याट्री दिइएको हो ।
यसअघि नै बीवाइडी र टोयोटा बीच संयुक्त लगानीमा नयाँ नयाँ मोडल उत्पादन गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार बीवाइडीले आफ्नो ब्लेड ब्याट्री टोयोटालाई दिएको हो । बीजेड ३ टोयोटाले उत्पादन गरेको सेडान कार हो । जसको सिधा प्रतिस्पर्धा टेस्ला मोडल ३ सँग हुनेछ । लम्बाईको आधारमा टोयोटा बीजेड ३ टेस्ला मोडल ३ भन्दा केही लामो छ ।

टोयोटाले यसअघि बीजेड४एक्स मोडल ल्याएको थियो, यसमा फरक ब्याट्री दिइएको छ । टोयोटाको इटिएनजीए प्लेटफर्ममा बनेको बीजेड ३ मा बीवाइडीको ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । यो ब्याट्री १० वर्षपछि पनि ९० प्रतिशत क्यापासीटीमा संचालन हुने टोयोटाले दावी गरेको छ । टोयोटाले यसलाई दुई ब्याट्री अप्सनमा ल्याएको हो ।
बीजेड ३ को स्टायडर्ड भेरियन्टमा ५० किलोवाट आवर र लङ रेन्ज मोडलमा ६५ किलोवाट अवार क्षमताको ब्याट्री दिइएको छ । यसमा दिइएको ब्याट्रीले सिंगल चार्जमा क्रमशः ५१७ र ६१६ किलोमिटर रेन्ज प्रदान गर्ने सिएलटीसी टेष्टीङले देखाएको छ ।
टोयोटाले करिब २८ हजार डलर सुरुवाती मूल्य राखेर यसलाई चिनियाँ बजारबाट विक्री सुरु गर्ने अनुमान गरिएको छ । यसको स्टायडर्ड भेरियन्टमा १३५ किलोवाट र लङ रेन्ज मोडलमा १८० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।


