तीन वटा स्कुटर बजारमा ल्याएको ओलाको पहिलो मोटरसाइकल आउँदै

काठमाडौं । भारतीय स्टाटअप कम्पनी ओलाले तीन मोडलका स्कुटर बजारमा ल्याइसकेको छ । कम्पनीले केही दिनअघि मात्रै एस १ एयर मोडलको स्कुटर बजारमा ल्याएको थियो । यसअघि एस १ र एस १ प्रो मोडल विक्री गर्दै आएको ओलाले सबैभन्दा सस्तो मोडलको रुपमा एस १ एयर मोडल ल्याएको हो ।

आफ्नो तीन स्कुटर सार्वजनिक गरेपछि अब कम्पनीले पहिलो इलेक्ट्रीक मोटरसाइकल बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीका सीईओ भाबेश अग्रवालले नयाँ मोडल अब मोटरसाइकल हुने जानकारी दिएका हुन् ।

ओलाले यसअघि नै इलेक्ट्रीक कार बजारमा ल्याउने घोषणा गरिसकेको छ । कम्पनीले इलेक्ट्रीक कारको बाहिरी बनोट र भित्री फिचरको तस्विरहरु सार्वजनिक गर्न थालिसकेको छ । यस्तोमा ओला पूर्णत इलेक्ट्रीक साधनको रेन्ज सार्वजनिक गर्न लागि परेको बुझ्न सकिन्छ ।

ओलाले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको टेक्नीकल डिटेल आगामी मार्चमा सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले अहिलेसम्म ल्याएका उत्पादनलाई हेर्दा नयाँ मोटरसाइकल पनि निकै आकर्षक डिजाइनमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top