काठमाडौं । पेट्रोल इन्जिन भएको इन्ट्री लेभल कारको मूल्य २५ लाखभन्दा माथि पुगिसकेको बजारमा मारुती सुजुकीको इन्ट्री लेभल कार अल्टो के-१० नेपाल ल्याउने तयारी सुरु भएको छ । सिजी मोटोकर्पले नेपाल ल्याउने अल्टो के-१० सबैभन्दा सस्तो मूल्यको पेट्रोल कार हुने भएको हो ।
इन्डो-जापानी ब्राण्डले आफ्नो इन्ट्री लेभल ह्याचव्याक कार अल्टोको के१० सिरिज भारतमा केही महिना अघि विक्री सुरु गरेको हो । नेपाल सरकारले आयात प्रतिवन्ध लगाएको कारण के-१० नेपाल आउन पाएको थिएन । अब भने आयात खुल्ला भएकोले यो नयाँ मोडल नेपाल ल्याउने तयारी सुरु भएको हो ।

मारुती सुजुकीले भारतमा ३ लाख ९९ हजारदेखि ५ लाख ८३ हजारसम्म भारतीय रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको के-१० नेपालमा २१ लाखदेखि २६ लाख रुपैयाँसम्म मूल्य तोकिएर आउने अनुमान गर्न सकिन्छ ।
विभिन्न ६ कलर भेरियन्टमा आएको अल्टो के-१०को लम्बाई ३५३० एमएम, चौडाई १४९० एमएम र उचाई १५२० एमएम रहेको छ । यसमा २३८० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
झट्ट हेर्दा कम्पनीले नयाँ जेनेरेशन सेलेरियो जस्तो देखिने अल्टो के-१० पुरानोको तुलनामा ८५ एमएम लामो, ४५ एमएम फराकिलो र २० एमएम लामो ह्वीलवेसको साथ आएको छ ।

मारुती सुजुकीले अल्टो के-१० मा १.० लिटर के१०सी, थ्रि सिलिण्डर, ड्यूल जेट भीभीटी इन्जिन दिएको छ । प्रतिलिटर २४.९० किलोमिटर दावी गरिएको के-१०मा रहेको इन्जिनले अधिकतम ६६.६२ पीएस पावर ८९ एनएम पीक टर्क प्रदान गर्न सक्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध छ ।
कम्पनीले यसको डिजाइनमा पनि ब्यापक परिवर्तन गरेको छ । नयाँ सिंगल पीस फ्रन्ट ग्रिल, सी आकारको बम्पर, तल्लो भागमा दिइएको एयर इन्टेक, स्वीप्टब्याक हेडल्याम्प, निकै स्मार्ट क्यावीन, १३ इन्चको स्टील ह्वील, स्क्वायर आकारको टेल ल्याम्प जस्ता विशेषता यसमा पाउन सकिन्छ ।


